झन्डै ५ अर्ब लगानीमा साँगा-धुलिखेल सडक ६ लेनको बनाइँदै, ५ कम्पनीको आवेदन

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार गर्ने प्रक्रिया अन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक विस्तारका लागि ५ कम्पनीले आवेदन दिएका छन् ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले भदौ १५ गते गरेको बोलपत्र आह्वानमा ५ कम्पनीले आवेदन दिएका हुन् ।आयोजनाका अनुसार साँगा–धुलिखेल सडक ६ लेनमा विस्तार गर्न आशिष कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, लामा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनीले आवेदन दिएका हुन् ।

आन्तरिक स्रोतबाटै निर्माण हुने सूर्यविनायक धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्डका लागि ४ अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको थियो ।

अब आवेदन दिएका कम्पनीहरुको प्राविधिक मूल्यांकन गरिने छ । प्राविधिक मूलयांकनबाट पास भएका कम्पनीहरुबाट आर्थिक प्रस्ताव माग गरिने छ । जुन कम्पनीले सबैभन्दा कम रकम कबोल गर्नेछ सोही कम्पनीले उक्त सडक विस्तारको ठेक्का पाउने छ ।

ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतसमेतको जिम्मा लिनुपर्ने छ ।

आयोजनाले गत भदौमा उक्त सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले आफ्नै लगानीमा निर्माण गर्नेगरी सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम अघि बढाएको हो । यसअघि जापान सहयोग नियोग (जाइका)ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो ।

डीपीआरअनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु ९ अर्ब लागत लाग्ने छ । प्रतिवेदनअनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनाक–धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्ड साँगादेखि धुलिखेलसम्मको सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको छ ।

डीपीआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख छ ।

आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो ।

सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु १ अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् ।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।

 

३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब Read Previous

३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

महालक्ष्मी विकास बैंककाे लकर सुविधामा आकर्षक योजना, यस्ता छन् फाइदा Read Next

महालक्ष्मी विकास बैंककाे लकर सुविधामा आकर्षक योजना, यस्ता छन् फाइदा