३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो ।

चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा ५.१७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

पूँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने धेरै गरेको छ । ३ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब ७५ करोड चालु खर्च गरेको छ । यो कुल लक्ष्यको १८.९१ प्रतिशत हो ।

समग्र बजेट खर्च पनि लक्ष्यभन्दा कम रहेको छ । असोजसम्म सरकारले कुल बजेटको १५.९१ प्रतिशत खर्च गरेको छ । चालु आवमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको हो ।

राजस्व संकलन पनि सुस्त

चालु वर्षमा राजस्व संकलन पनि सुस्त देखिएको छ । चालु वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले ३ महिनामा लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुवै राजस्वको कुल योग हो ।

कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड र गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदान मात्र ७९ करोड रुपैयाँ प्राप्त भएको छ ।

बुधबार ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने Read Previous

बुधबार ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

झन्डै ५ अर्ब लगानीमा साँगा-धुलिखेल सडक ६ लेनको बनाइँदै, ५ कम्पनीको आवेदन Read Next

झन्डै ५ अर्ब लगानीमा साँगा-धुलिखेल सडक ६ लेनको बनाइँदै, ५ कम्पनीको आवेदन