देशभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द, मापदण्डमा कडाइ गरिने

"व्यवसायीलाई सिजनमै धक्का"

काठमाडौं । सरकारले देशभर साहसिक खेल प्याराग्लाइडिङ उडानमा अनिश्चितकालीन प्रतिबन्ध  लगाएकाे छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशैभर संचालित प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अर्को सूचना जारी नहुन्जेल देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको बताए । उनले प्याराग्लाइडिङ दौरान मृत्यु हुने क्रम बढेकाले अब मापदण्डमा कडाइ गरिने बताए । नयाँ मापदण्ड तोक्नका लागि लागि प्राधिकरणले कमिटी गठन गरी अध्ययन गर्ने उनले बताए ।

पछिल्लो समय ‘प्याराग्लाइडिङ गर्दा मृत्यु हुने क्रम बढ्न थालेको छ । सुरक्षित उडानका लागि मापदण्डमा कडाइ गर्नुपर्ने भएको छ । कडा मापदण्ड सहित सञ्चालनमा ल्याउनका लागि अनिश्चितकालीन रूपमा बन्द गरिएको हो,’ निरौलाले चाणक्य पोष्टसँग भने ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज पोखरामा  प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी निशिम थापामगरको निधन  भएकाे थियाे ।  त्यसपछि क्यानले देशभर उडानमा रोक लगाएको हो ।

प्रतियोगिता अन्तर्गत बिहान साढे ११ बजे प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा परेका थिए । पोखरामा २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भर्दा दुर्घटनामा परेका थिए । पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्दा उनकाे मृत्यु भएकाे थियाे ।

दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।

पर्यटकीय सिजनमै प्याराग्लाइडिङ बन्द भएपछि व्यवसायमा धक्का परेको छ । हाल देशका विभिन्न ११ जिल्लामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडानका लागि क्यानले अनुमति दिएको छ ।

पर्यटकीय नगरी पोखरामा मात्रै ५ दर्जन कम्पनीले प्याराग्लाडिङ संचालन गर्दै आएका छन् ।

बैंक अफ काठमाण्डूद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

बैंक अफ काठमाण्डूद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

फेसियल हाउसकाे नयाँ शाखा धनगढीमा Read Next

फेसियल हाउसकाे नयाँ शाखा धनगढीमा