काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ ।
आजदेखि अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न सुरु गरेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । सो मेसिनले आउँदो २२ महिनामा १३.३ किलोमिटर सुरुङ खन्ने कार्यसम्पन्न हुने उनले बताए ।
सुरुङ खन्ने क्रममा भौगर्भिक रुपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने उनको भनाइ छ ।सो आयोजना भौतिक पूर्वाधरले मात्र नभएर आर्थिक विकासले पनि अति महत्वपूर्ण मानिएको छ ।
सुनकोशीको पानी मरिणमा खसाली हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लको करिब १ लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिंचाइको सहज पहुँच पुर्याउन सकिने छ । साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ ।
बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी छ । यस वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
विसं २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको शिलान्यास भएको थियो । सुनकोशी गाउँपालिका ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोशी नदीका करिब ६७ क्युमेक पानीलाई १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने योजना रहेको छ ।
आयोजनाको पहिलो चरणको कार्य अन्तर्गत सुरुङ निर्माणको लागि निर्माण व्यवसायी hina overseas engineering group ltd china सँग १९ मार्च २००१ म निर्माण सम्झौता भई निर्माण भइरहेको छ ।
आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छिन् ।
आयोजनाकोस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने बताएकी हुन् । उनले भनिन् ‘नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ , खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।’
मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकरात्मक सुधार ल्याउने बताइन् ।
आयोजनाको निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर कुमार राई, सह–सचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उप–महानिर्देशक रुकमागत खनाल सहितको टोलीले निरीक्षण गरेको थियो ।