काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार घटिरहेको छ । २०७८ भदौमा इतिहासकै सर्वाधिक ३२०० विन्दु छोएको नेप्से त्यसयता लगातार घटेर अहिले १८०० विन्दुको वरिपरी घुमिरहेको छ ।
पछिल्लो १ वर्षको अवधिमा नेप्से करिब १३०० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै रोकिएको छ । नेप्से लगातार घटेसँगै सूचीकृत कम्पनीहरुको सेयर मूल्य पनि १ वर्ष यताकै सस्तो मूल्यमा आएको छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्स मा २४० बढी कम्पनी सूचीकृत छन् । तीमध्ये करिब डेढ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो भएका छन् । अर्थात् ती कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा पनि कम रहेको छ ।
नेप्सेमा विभिन्न १३ समूहको सेयर सूचीकृत छ । सोमध्ये वाणिज्य बैंकहरुको सेयर सबैभन्दा सस्तो छ । तुलनात्मक रुपमा उत्पादनमूलक कम्पनी, माइक्रोफाइनान्स, बीम कम्पनी, फाइनान्स कम्पनीको सेयर मूल्य धेरै रहेको छ ।
यी हुन् २०० रुपैयाँभन्दा कममा किन्न पाइने सेयर
नेप्सेमा सूचीकृत भई हाल कारोबारमा रहेका र कारोबार रोक्का रहेका आधा दर्जन बढी बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ ।
हाल कारोबारमा रहेका लक्ष्मी, सिटिजन्स, सनराइज बैंकको सेयर मूल्य १९० रुपैयाँदेखि २०० रुपैयाँको बीचमा रहेको छ । त्यस्तै, मर्जर प्रक्रियामा गई कारोबार रोक्का भएका कुमारी, सेन्चुरी कमर्शियल, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य २०० भन्दा कम रहेको छ ।
यसैगरी, नेप्सेमा सूचीकृत केही हाइड्रोपार र होटलको सेयर मूल्य पनि २०० रुपैयाँभन्दा कम रहेको छ । नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावरको सेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । यी कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७० रुपैयाँदेखि २०० रुपैयाँको बीचमा रहेको छ ।
यसैगरी, सोल्टी होटल, एचआइडीसीएल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य पनि २०० रुपैयाँभन्दा कम छ ।