काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि प्रतिकित्ता १०० अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता प्राथमिक सेयर (आइपीओ) विक्रीमा ल्याएको छ ।
निष्काशन हुने कुल सेयरमध्ये ५ प्रतिशत (३३ हजार ५१५ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (१३ हजार ४०६ कित्ता)सेयर छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा कात्तिक १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।
यस्तो छ वित्तीय अवस्था
कम्पनीले भोजपुरको पिखुवाखोलाबाट ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरेको छ । सो आयोजनाको कुल लागत १ अर्ब ३० करोड रुपैयाँ छ । आयोजनाको लागत तुलनात्मक रुपमा महँगो देखिएको छ । प्रतिमेगावाट लागत २६ करोड ११ लाख हाराहारीमा रहेको छ ।

कम्पनीको विवरणपत्रअनुसार चालु आव र अरु दुई वर्ष कम्पनी नोक्सानमा रहने प्रक्षेपण छ । गत असार मसान्तसम्म कम्पनीको १३ करोड ६४ लाख संचालन नोक्सानीमा रहेको छ । चालु आवमा सो नोक्सानी घटेर ११ करोड ४९ लाखमा आउने कम्पनीको प्रक्षेपण छ ।
गत असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ७२.४९ रुपैयाँ छ भने चालु आवमा ८१.४५ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यस्तै, गत वर्ष ०.१५ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको चालु आवमा प्रतिसेयर आम्दानी ३.४६ रुपैयाँ पुग्ने अनुमान छ ।
साधारण लगानी फिर्ता अवधि ९.०७ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता अवधि १८.११ वर्षको अनुमान छ । केयर नेपाललले ‘बी प्लस’ रेटिङ दिएको छ ।