काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वको बेला जुवा–तासलाई मनोरञ्जनको रुपमा लिइने गरिन्छ । मनोरञ्जनका रुपमा लिइने तास दशैँमा मात्र नभई अन्य समयमा पनि मानिसहरुले खेल्ने गर्छन् । पेशाकै रुपमा खेलीने जुवातासले समाजमा विकृति समेत फैलाउने गरेको छ । तासकै कारण मानिसहरुले आफ्नो घरबार तथा धनजन समेत गुमाएका कयौं उदाहरण रहेका छन् ।
सरकारले सार्वजनिक स्थानमा तास खेल्न रोक लगाए पनि नेपालीहरु व्यक्तिहरु घरमै बसेर तास खेल्ने छन् । चाडवाडको समयमा विशेष गरी परिवार तथा आफन्तजनसँग मिलेर तास खेल्ने प्रचलन रहेको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा मात्र तास आयातका क्रममा ४ करोड ७३ लाख रुपैयाँ बराबर रकम बाहिरिएको छ । सो रकम मार्फत ३३ लाख ४१ हजार प्याकेट तास आयात भएको हो । तास आयातका क्रममा सरकारले २ करोड ५७ लाख रुपैयाँ राजश्व असुल गरेको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा कुल २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बजाबर रकम तार आयातका क्रममा बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो अवधिमा १ करोड ५७ लाख २५ हजार प्याकेट तास आयात भएको थियो । सो आयातका क्रममा ११ करोड २७ लाख २१ हजार रुपैयाँ राजश्व सरकारले उठाएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा तास आयात गर्दा १४ करोड ५७ लाख २७ हजार रुपैयाँ बाहिरिएको थियो । सो अवधिमा कुल १ करोड २१ लाख ४४ हजार प्याकेट तार आयात भएको थियो । तास आयात गर्दा ५ करोड ४८ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा तास आयातका क्रममा कुल १४ करोड ५६ लाख ६२ हजार रुपैयाँ बाहिरिएको थियो । सो बाहिरिने क्रममा १ करोड १५ लाख ९७ हजार प्याकेट तास आयात भएको थियो । उक्त आयातका क्रममा ५ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
नेपालमा तास अमेरिका, थाइल्याण्ड, चीन, भारतबाट आयात हुने गर्छ । सबैभन्दा बढी चीन र भारतबाट तास आयात हुने गरेको छ भने अन्य देशबाट थोरै मात्रामा तास आायत हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ ।
चालु आवको दुई महिनामा ४ करोड ४४ लाख रुपैयाँ बराबरको तास चीनबाट आयात भएको छ । भारतबाट ३१ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जनाएको छ ।