आयल निगम डेढ वर्षपछि नाफामा, अब घटाउला इन्धनको भाउ ?

काठमाडौं । पेट्रोलियम पद्धार्थमा लगातार घाटा बेहोरिरहेको नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले गत महिना डेढ अर्ब नाफा कमाएको हो ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यमा आउने उतारचढावले यो नाफा स्थिर रहने सम्भावन भने न्यून छ । निगमले पछिल्लो डेढ वर्षयता हरेक महिना घाटा बेर्होदै आएको छ । ५० अर्ब बढी घाटामा रहेको निगमले मासिक ब्याज मात्र डेढ अर्ब रुपैयाँ तिरिरहेको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले केही समय अघि पेट्रोलियम पद्धार्थको मूल्य घटेर आएकोले मासिक डेढ अर्ब नाफा भएको बताए । ‘केही समयअघि पेट्रोलियम पद्धार्थको मूल्य घटेर आएको हो । निगमको नाफा घाटाको अवस्था हेर्ने भनेको आर्थिक वर्षको अन्त्यमा हो,’ उनले भने, ‘पछिल्लो १५ दिनमा मूल्य घटेर आएकाले मासिक एक अर्ब ८० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।’

दशैंअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलरमा झरेको थियो । हाल निगमलाई पेट्रोल, हवाई इन्धन र मट्टटीतेलमा नाफा रहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ४५ पैसा नाफा भइरहेकोे छ ।

निगमका अनुुसार हाल प्रतिलिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ,डिजेल १७८ र खाना पकाउने एलपी ग्यास १८०० रुपैयाँ पुगेको छ ।

निगमले अब इन्धनको भाउ घटाउला ?

केही समयअघि विश्व बजारमा कच्चा तेलको मूल्य घटेपनि फेरि बढ्दै गएको छ । निगमले लगातार बेहोरीरहेको घाटा र मूल्यवृद्धिका कारण तत्काल पेट्र्रोलियम पद्धार्थको मूल्य घट्ने सम्भावना न्यून छ ।

निगमका प्रवक्ता उपाध्यायले तत्काल पेट्रोलियम पद्धार्थको मूल्य घटाउने सम्भावन नरहेको बताए । ‘पछिल्लो समयमा ओपेकले जुन निर्णय गरेको छ । त्यो निर्णयले केही समय अघिसम्म ८५ डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य आज ९७ डलर छ । त्यसबाहेक तयारी पद्धार्थको लागत महंगो छ,’ उनले भने, ‘हामीले ल्याउने भनेको फिनिस प्रडक्ट हो । सामान्य अवस्थामा अक्टुबर, नोभेम्बर लागेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको माग उच्च हुने भएपछि पेट्रोलियम पद्धार्थको मूल्य बढ्ने गरेको छ । जसको कारण अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा पनि मूल्य घट्ने अवस्था छैन ।’

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति प्रणाली असहज बन्दै गएको छ भने इन्धन संकट चर्किएको छ । विश्वका तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक प्लस’ले प्रतिदिन २० लाख ब्यारल तेलको उत्पादन घटाउन निर्णय गरेको छ । जसको कारण इन्धनको माग बढ्ने र त्यसले कच्चा तेलको मूल्य झनै आकाशिने प्रक्षेपण गर्न थालिएको छ ।

ओपेकको यस कदमले नेपाल जस्ता तेल आयात गर्ने देशहरुमा पेट्रोलियम पद्धार्थको मूल्य झनै बढ्ने देखिएको छ । हाल निगमले आईओसीलाई २५ अर्ब रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । सरकारले दिएको ७ अर्ब ऋण, आफ्नै जमिन धितो राखेर लिएको ३ अर्ब ऋण निगमले तिर्न बाँकी छ । जसको मासिक ब्याज मात्र डेढ अर्ब रुपैयाँ निगमले भुक्तानी गरिरहेको उनले बताए ।

‘आइओसीलाई तिर्न नसकेको बक्यौता रकमको ब्याज, सरकारले उपलब्ध गराएको ऋणको ब्याज, आफूले लिएको ऋण गरेर १ अर्ब ६६ करोड रुपैयाँ ब्याजकै तिर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा केही दिन मूल्य घटेर आउँदैमा यहाँ तत्काल मूल्य घटाउन सकिने देखिँदैन ।’

सरकारले पेट्रोलियम पद्धार्थमा लगाएको कर घटाउने बताए पनि हालसम्म घटाएको छैन् । जसको कारण एकातिर उपभोक्ताले महंगो मूल्यमा पेट्रोलियम पद्धार्थ खरिद गरिररहेका छन भने अर्कोतर्फ निगमको घाटा चुलिँदै गएको छ ।

 

 

९ दिनपछि खुलेको सेयर बजारमा उछाल, यी हुुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

९ दिनपछि खुलेको सेयर बजारमा उछाल, यी हुुन् धेरै मूल्य बढ्ने १० कम्पनी

मनसुन नहट्दै काठमाडौंमा किन बढ्यो चिसो ? Read Next

मनसुन नहट्दै काठमाडौंमा किन बढ्यो चिसो ?