वीरगन्ज नाकाबाट इन्धन आयात १७ प्रतिशतले घट्यो, राजस्व भने बढ्यो

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगन्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा वीरगन्ज नाकाबाट २० अर्ब चार करोड ४३ लाख रुपैयाँ मूल्यको दुई लाख २७ हजार ५३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा नौ अर्ब २० करोड ७३ लाख रुपैयाँको एक लाख ९० हजार नौ किलोलिटर इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

गत आवको पहिलो दुई महिनामा वीरगन्ज नाकाबाट १० अर्ब १३ करोड रुपैयाँ मूल्यको एक लाख ४८ हजार ४६० किलोलिटर डिजेल, चार अर्ब ६३ करोड रुपैयाँ मूल्यको ६२ हजार ७३२ किलोलिटर पेट्रोल, एक अर्ब ९८ लाख रुपैयाँ मूल्यको १५ हजार ३६४ किलोलिटर हवाई इन्धन, सात करोड ७४ लाख रुपैयाँ मूल्यको ९८० किलोलिटर मट्टितेल र चार अर्ब १९ करोड रुपैयाँ मूल्यको ४३ हजार ६२४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।

चालु आवको सोही अवधिमा १३ अर्ब ९५ करोड रुपैयाँ मूल्यको एक लाख सात हजार ४०६ किलोलिटर डिजेल, सात अर्ब ५३ लाख रुपैयाँ मूल्यको ६२ हजार ७६० किलोलिटर पेट्रोल, दुई अर्ब ४२ करोड रुपैयाँ मूल्यको १८ हजार ९८० किलोलिटर हवाई इन्धन, १२ करोड १५ लाख रुपैयाँ मूल्यको ८८० किलोलिटर मट्टितेल र पाँच अर्ब ७४ रुपैयाँ मूल्यको ४२ हजार ५६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट संकलित हुने राजस्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा नौ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ बढी अर्थात् नौ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । रासस

ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ? Read Previous

ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

हुलाकी सडकले बदलेको कथा : हरेक किलोमिटरमा चोक, जग्गाको भाउ छोइनसक्नु Read Next

हुलाकी सडकले बदलेको कथा : हरेक किलोमिटरमा चोक, जग्गाको भाउ छोइनसक्नु