काठमाडौं । चिउरा धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार पारिन्छ । दही, मासु, मिठाई हरेक परिकारसँग मिसाएर सजिलै खान सकिने भएकाले चिउराको महत्व धेरै रहेको छ ।
यो सुख्खा, चुरुमचुरुम भएकाले खानमा निकै स्वादिष्ट हुन्छ । चिउरा नेपालमा सबै क्षेत्रमा खाने गरिन्छ तर, यसको उपभोग नेवार समुदायमा उच्च रहेको छ ।
चिउरालाई खाजाको रूपमा खाने गरिन्छ । नेवारी समुदायमा हरेक भोज, चाडपर्वमा चिउरा अनिवार्य राख्ने गरिन्छ । चिउरा विभिन्न थरिका हुन्छन् । पहाडमा खाने चिउरा र तराईमा खाने चिउराको आकार र स्वाद एकदम भिन्न रहेको छ ।
पहाडी क्षेत्रमा मोटा चामलका दाना कुटेर बनाइएको चिउरा धेरै प्रयोगमा आउँछ । तराईमा पातला, मुखमा राख्दै जिब्लोमा बिलाउने खालका चिउरा धेरै खाने गरिन्छ । यो चिउरालाई तराईमा मिठाईसँग मिसाएर खाने पनि गरिन्छ ।
यसरी क्षेत्र अनुसार चिउरा र त्यसलाई खाने तरिका फरक छ । नेपालमा ताइचिनको चिउरा, भुटेको चिउरा, सेतो ताइचिनको चिउरा, रातो ताइचिनको चिउरा विशेष प्रसिद्ध रहेको छ । यसको मूल्य ८० रुपैयाँ प्रतिकेजी देखि १६० रुपैयाँ केजीसम्म पर्ने चिउरा बजारमा पाइन्छन् ।
बजारमा थरी–थरी गुणस्तरका चिउरा पाइन्छन् । यीमध्ये सबैभन्दा महंगो र स्वादिलो मानिन्छ ताइचीनको चिउरा । यसको मूल्य १६० रुपैयाँ प्रतिकेजी पर्छ । पौष्टिकयुक्त भएकै कारण यसको मूल्य अन्य चिउराको भन्दा महंगो रहेको छ ।
ताइचिनको चिउराको लोकप्रियता र माग काठमाडौं उपत्यकामा धेरै छ । तर, महंगो भएकाले उपत्यकाबाहिर यसको माग कमै भएको व्यवसायी बताउँछन् । नेपालमा ८३ प्रजातिका धान खेतीका लागि सिफारिस भएका छन् । तीमध्येकै एक हो ‘ताइचिन’ । माग बढ्दै गए पनि यो धानको उत्पादन उपत्यकामा नै सीमित रहेको विज्ञहरू बताउँछन् ।
झण्डै ६० वर्षअघि नेपाल भित्रिएको यो प्रजातिको धान विस्तारै लोकल धानको रूपमा उपत्यका भित्र उत्पादन हुँदै आएको छ । मोटो चामल हुने भएकाले यसको उत्पादन गर्न नरुचाउने धेरै छन् । मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको ताइचिनको धान विस्तारै भक्तपुरको पेरिफेरिमा सीमित हुन थालेको छ ।
फिलिपिन्समा रहेको इन्टरनेशनल राइस रिसर्च इन्ष्टिच्युट (इरी) ले ताइचिन धान नेपालका लागि सिफारिस गरेको थियो । वि.स. २०२० तिर नेपाल भित्रिएको यो धान राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट वि.सं. २०२४ मा खेतिका लागि सिफारिस भएको थियो ।
हाल ताइचिनको धान उपत्यका वरपरबाट समेत विस्थापन हुँदै गएको छ । हाब्रिड धानहरूका कारण यो धानको महत्व घट्दै गएको हो । विगतमा भक्तपुरको कुल धान उत्पादनमा १०–१५ प्रतिशत हिस्सा ताइचिन धानको हुने गरेको भए पनि पछिल्लो समय यो अझै घट्ने क्रममा रहेको छ ।
चिउरा आयात
पछिल्लो समय चिउरा निर्यात समेत सुरू भएको छ । चालु आवको २ महिनामा मात्र २९ लाख ३० हजार रुपैयाँ बराबरको चिउरा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० लाख रुपैयाँ बराबरको चिउरा आयात भएको थियो । गत वर्ष कुल ६१ लाख ५९ हजार रुपैयाँ बराबरको चिउरा अयात भएको थियो ।