काठमाडौं । दशैंको बेला मुख्यगरी ३ दिन (अष्टमीदेखि टीकाको दिनसम्म) सार्वजनिक यातायात एकदम कम चल्छन् । सार्वजनिक यातायात नचल्दा एकठाउँबाट अर्को ठाउँमा जान समस्या हुने गरेको छ ।
नजिकका गन्तव्यहरूमा ट्याक्सीमार्फत जान सकिने भए पनि भाडा महँगो लिने गर्छन् । सार्वजनिक सवारीसाधन नचल्दा भनेको ठाउँमा जान समस्या हुने गरेकोे छ । सार्वजनिक बस, माइक्रोबस ट्याक्सी लगायत सवारी साधन अत्यन्त कम चल्ने गरेका छन् ।
पछिल्लो समय सार्वजनिक यातायातको विकल्पमा राइडिङ सेयरिङ सेवा प्रदायक कम्पनीहरू आएका छन् । ट्राफिक जाम र झन्झटिलो, असहज सार्वजनिक यातायातको विकल्पमा राइडिङ सेयरिङ यात्रुको रोजाइमा पर्न थालेका छन् ।
प्रविधिको विकासले मोबाइल एप्लिकेशन मार्फत तुरुन्तै यात्रुले चाहेको ठाउँमा सेवा प्रदायकलाई बोलाउन सक्छन् । ट्याक्सीको तुलनामा भाडा सस्तो पर्ने तथा छरितो हुने भएकाले मानिसहरूले यस्ता राइड सेवा प्रदायकहरू प्रयोग गर्ने गरेका छन् ।
नेपालमा निजी सवारीले सार्वजनिक सवारी जस्तै मानिस बोक्न नपाउने व्यवस्था भए पनि राइड सेवा कम्पनीहरू थपिने क्रम जारी छ ।हालसम्म राइड सेयरिङ सेवा प्रदायकहरूलाई नियमन तथा वयवस्थापन गर्न सरकारले कानुन बनाउन सकेको छैन् । सोही कारण यस्तो सेवा गैरकानुनी भन्दै बेलाबेलामा सार्वजनिक सवारी साधनहरूले विरोध गर्ने गरेका छन् । यद्यपि, यात्रुको रोजाइमा भने टुटल, पठाओ, मेट्रो ट्याक्सी, साहारा जस्ता राइड सेवा प्रदायक पर्ने गरेको देखिन्छ ।
यस्ता सेवा प्रदायक कम्पनीहरूका राइडरहरू सहरका चोकचोकमा सजिलै भेट्टाउन सकिने भएकाले पनि मानिसको रोजाइमा पर्ने गरेका छन् । दशैंमा भने सार्वजनिक सवारी साधनको आवतजावत न्यून हुन्छ । सार्वजनिक सवारी साधन बन्द भए पनि ती कम्पनीहरूले भने आफ्नो सेवा निरन्तर दिने जनाएका छन् । यद्यपि, अहिले अधिकांश राइडिङ सेयरिङ कम्पनीको सेवा काठमाडौं उपत्यकामा मात्र सीमित छ ।
यदि तपाईंले दशैंको बेला काठमाडौंमा एक ठाउँबाट अर्को ठाउँमा जान गाडी पाउनु भएन भने यी राइडिङ सेवा प्रदायकमार्फत सहजै सेवा लिन सक्नु हुन्छ ।
पठाओ : हाल काठमाडौं उपत्यका र चितवनमा राइड सेवा दिइरहेको पठाओले आफ्नो सेवा दशैंको दिन पनि निरन्तर रहने जनाएको छ । यात्रुहरूले मोबाइलमा पठाओ एप डाउनलोड गरेर ट्याक्सी तथा मोटरसाइकल मार्फत सेवा लिनसक्ने छन् ।
टूटल : हाल काठमाडौं उपत्यकामा सेवा दिँदै आएको टुटलले दशैंको बेलामा पनि आफ्नो सेवा नियमित रहने जनाएको छ । यात्रुको सुविधाको लागि आफ्ना सेवा नियमित राखिएको कम्पनीले जनाएको छ । यात्रुले टुटलको एपमार्फत अनलाइन बुकिङ गरी सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
मेट्रो अनलाइन ट्याक्सीले पनि आफ्नो सेवा निरन्तर रहने जनाएको छ । यात्रुहरूले आफ्नो स्मार्टफोनमा मेट्रो अनलाइन ट्याक्सी डाउनलोड गरेर उपत्यका भित्रका चाहेको स्थानमा बोलाएर सेवा लिनसक्ने छन् । विशेषगरी यस्ता कम्पनीले राइडर मार्फत काठमाडौँ,ललितपुर र भक्तपुर लगायतका क्षेत्रमा सेवा दिइरहेका छन् ।
साहराले पनि दशैँ तिहारमा आफ्नो सेवा निरन्तर रहने जनाएको छ । कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर क्षेत्रमा सेवा दिइरहेको छ । सेवाग्रहीले आफ्नो स्माार्ट फोनको प्ले स्टोरमा गएर सहारा एप डाउनलोड गरेर सेवा लिनसक्ने छन् ।
ट्याक्सीमाण्डूले दशैंतिहारमा पनि आफ्नो सेवा निरन्तर रहने बताएको छ । सेवाग्रहीले कम्पनीको एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् ।
यसैगरी, इजी ट्याक्सी नेपाल, सारथी, इन ड्राइभ जस्ता राइड सेयरिङले आफ्नो सेवा निरन्तर रहने जनाएका छन् ।