काठमाडौं । भारतले चामल निर्यात कर बढाएपछि चालम आयातमा कमी आएको छ । भारतले बासमती चामल बाहेकका सबै चामलको निर्यात कर २० प्रतिशत लगाउने निर्णय गरेसँगै आयातमा गिरावट आएको हो ।
चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ) मा कुल ४ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ बराबरको चामल आयात भएको हो । सो मूल्यमा ९ करोड ८५ लाख केजी चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ४० कराेडले कम हो । गत आर्थिक वर्षको २ महिनामा ५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका साथै बासमती बाहेकका अरु चामल निर्यातमा समेत कडाइ गरेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब १६ करोड रुपैयाँ बराबरको ५० लाख किलो कनिका आयात भएको थियो ।
चामलमा भारत निर्भर रहेकोले कर बढ्ने बित्तिकै मूल्य पनि बढेको छ । यस चाडपर्वको मुखैमा आएर नेपाली भान्छामा महंगी बढेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार जिरा मसिनो चामल केजीमा ८० देखि ९० रुपैयाँ पर्न थालेको छ ।
जिरा मसिनो चामल प्रति बोरामा २०० रुपैयाँभन्दा बढी पुगेको किराना व्यवसायी सरिता चौधरी बताउँछिन् । उनका अनुसार पछिल्लो ३/४ महिनामा चामलको बोराको मूल्यमा ४०० रुपैयाँ देखि ५०० रुपैयाँसम्म मूल्य बढेको छ । उनले १९ सय रुपैयाँ बोराको चामल बढेर २ हजार देखि २ हजार २०० रुपैयाँ बोरा पुगेको बताइन् ।
त्यस्तै, अधिकांश लङ ग्रेन चामलको मूल्य प्रतिबोरा २ हजार ८०० देखि ३ हजार रुपैयाँ पुगेको छ । यो चामल पहिदा २ हजार ५५० देखि २ हजार ६०० रुपैयाँ प्रति बोरा रहेको थियो । यस बोराको चामलको बोरामा २०० देखि ३०० रुपैयाँ बढेको हो ।
यसैगरी सोना मन्सुली चामल बोरामा १० केजीको १ हजार २५० पर्ने गरेको थियो । यो चामलको मूल्य हाल १० केजीको १४ सय रुैियाँ हाराहारी पुगेको छ ।