काठमाडौं । वाणिज्य बैंकहरू बीच सबैभन्दा ठूलो बैंक बन्ने होड चलेको छ । चुक्ता पूँजी बढाउन अर्को बैंकसँग मर्जर तथा एक्वीजिसनमा जाँदै एकआपसमा ठूलो बन्ने होड चलेको हो ।
हाल ठूला भनिएका बैंकहरूले झन् ठूलो बन्न अन्य बैंकसँग मर्जरमा गइरहेका छन् । हाल १० वटा वाणिज्य बैंक मर्जर प्रक्रियामा रहेका छन् । नबिल र बंगलादेश बैंक बीच मर्जर प्रक्रिया सम्पन्न भइसकेको छ । बंगलादेश बैंकलाई गाभेको नबिल चुक्ता पूँजीका आधारमा दोस्रो ठूलो बैंकको रुपमा रहेको छ ।
वाणिज्य बैंकहरू धमाधम मर्जरमा जाँदा एकातिर बैंकहरूको चुक्ता पूँजी र पूँजी कोषको आकार पनि बढ्दै गएको छ भने अर्कोतिर बैंकको संख्या घट्दो क्रममा छ । पछिल्लो एक वर्षमा एक दर्जन बैंहरूले मर्जर तथा प्राप्तिको सम्झौता गरिसकेका छन् । यी संस्थाहरूको एकीकृत कारोबार सुरु भएपछि वाणिज्य बैंकको संख्या २१ कायम रहने छ ।
ठूला बैंकहरूले सानालाई आफूमा गाभिरहेको वा समान तहका बैंकसँग मर्जरमा जाने भएपछि नयाँ बन्ने बैंकको पूँजीको आकार बढेको हो । विशेषगरी, मर्जरपछि ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंक बीच प्रतिस्पर्धा हुने देखिएको छ । यी बैंकको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि पूँजीकोषको आकार आधा खर्बबढी हुनेछ ।
यद्यपि, पूँजीको आकार बढाउँदैमा व्यवसाय विस्तार तथा अन्य वित्तीय सूचकमा बैंकहरू अब्बल नै हुन्छन् भन्न नसकिने बैंकरहरू बताउँछन् । संस्थागत सुशासन, बैंकको संख्या घटाउने र वित्तीय आधार बलियो बनाउने उद्देश्य सहित राष्ट्र्र बैंकले मर्जरको नीति लिएको छ ।
कुन बैंक कत्रो बन्ने छ ?
हाल रहेका २६ वटा वाणिज्य बैंकमध्ये चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो रहेको छ । यसको चुक्ता पूँजी २३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रियामा रहेको ग्लोबल एकीकृत कारोबारपछि पनि सबैभन्दा ठूलो बैंक नै कायम रहने छ ।

बैंक अफ काठमाण्डूलाई १:१ सेयर अनुपातमा गाभेपछि ग्लोबलको चुक्ता पूँजी ३३ अर्ब ४२ करोड पुग्नेछ । यस्तै, दुवै बैंकको रिजर्भ कोष समेत जोड्दा ग्लोबलको पूँजीकोषको आकार ५४ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ ।
यस्तै, पूँजी कोषको आकारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा ठूलो बन्नेछ । मेगालाई १००ः९० सेयर अनुपातमा गाभेर नयाँ बन्ने बैंकको पूँजी कोषको आकार ५७ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । हाल इन्भेष्टमेन्टको चुक्ता पूँजी १८ अर्ब ३१ करोड छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । ९० प्रतिशत स्वाप रेसियोमा गाभ्दा एकीकृत चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ ।
यस्तै, गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलको पनि पूँजीकोषको आकार आधा खर्ब बढी हुनेछ । नबिलको चुक्ता पूँजी २२ अर्ब ८३ करोड र रिजर्भ कोष २९ अर्ब ७५ करोड रुपैयाँ छ । दुवै जोड्दा पूँजीकोषको आकार ५२ अर्ब ५८ करोड रुपैयाँ हुन्छ ।
यसैगरी, एनसीसी बैंक र कुमारी बैंकले बराबर स्वाप रेसीयोमा मर्जर सम्झौता गरेका छन् । जस अनुसार मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी २५ अर्ब ८५ करोड रुपैयाँ कायम हुनेछ भने पूँजीकोष ३७ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।
हिमालयन बैंकले सिभिलसँग १ः०ः८१ को स्वाप रेसीयोमा एक्विजीसन सम्झौता गरेको छ । हाल सिभिलको चुक्ता पूँजी ९ अर्ब छ भने हिमालयनको १३ अर्ब रुपैयाँ रहेको छ । एकीकृत कारोबारपछि हिमालयन बैंकको चुक्ता पूँजी २० अर्ब ३२ करोड र कुल पूँजी कोष ३४ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, प्रभुले सेन्चुरी बैंकलाई बराबर स्वाप रेसियोमा गाभ्ने भएको छ । एकीकृत कारोबारपछि यस बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ भने ३२ अर्ब पूँजीकोष पुग्नेछ ।