काठमाडौं । सरकारले नेपालमा विदेशी लगानी भ्यिाउन सीमा घटाए पनि लगानीकर्ता भने आकर्षित हुन नसकेको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० बजेटमार्फत २ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) भित्र्याउन पाउने व्यवस्था गरेको थियो ।
यसअघि ५ करोडभन्दा कम एफडीआइ भित्र्याउन नपाउने व्यवस्था संशोधन गर्दै सरकारले २ करोडमा झारेको थियो । तर, सीमा घटाए पनि विदेशी लगानी प्रतिबद्धता झन् घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आवको २ महिना (साउन र भदौ) मा जम्मा १ अर्ब २५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९२७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १२ अर्ब १६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
विदेशी लगानीकर्ता आकर्षित र डलर संचिति बढाउने भन्दै सरकारले एफडीआईको सीमा घटाए पनि त्यो प्रभावकारी हुन नसकेको देखिएको छ । चालु आवमा विगतका वर्षहरूको जति समेत एफडीआइ आउन सकेको छैन ।
उद्योग विभागका वैदेशिक लगानीका शाखा निर्देशक सुरेश श्रेष्ठ बजेटमा नीति ल्याइए पनि हाल कार्यान्वयनमा आइनसकेको बताउँछन् । सो व्यवस्था कार्यान्वयनको प्रकृयामा रहेकाले हाल ५ करोड बढी मात्रै विदेशी लगानी ल्याउन पाइने व्यवस्था रहेको उनले बताए ।
उनका अनुसार २ करोडभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता गराउने प्रकृया क्याबिनेटबाट पास भएपछि राजपत्र जारी गरेर मात्र कार्यान्वयनमा ल्याइनेछ । ‘अहिले त्यो नीति कार्यान्वयनमा आइसकेको छैन, त्यो कार्यन्वनयमा आउन क्याबिनेटबाट पास भएर राजपत्रमा प्रकाशित हुनुपर्छ अनि मात्र लागू हुन्छ,’ निर्देशक श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
विश्वभर नै आर्थिक मन्दीको हल्लाका कारण नयाँ लगानी थपिने क्रम सुस्त रहेकाले नेपालमा त्यसको असर परेको जानकारहरू बताउँछन् । त्यस्तै, नेपालको झन्झटिलो कानुनी व्यवस्था, यहाँको तुलनामा अन्य देशमा लगानी गर्दा बढी प्रतिफल पाइने लगायत कारणले पनि विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको उनीहरूको तर्क छ ।
कुन क्षेत्रमा कति आयो प्रस्ताव ?
चालु वर्षको दुई महिनामा विदेशी लगानीका जम्मा ४ वटा उद्योग दर्ता भएका छन् । जबकी गत वर्षको सोही अवधिमा ७४ वटा कम्पनी दर्ता भएका थिए ।
यो वर्ष सेवा क्षेत्रमा १ अर्ब २० करोड रुपैयाँ विदेशी लगानीमा ३ वटा उद्योग दर्ता भएका छन् । उक्त कम्पनीहरू सञ्चालनमम आएपछि ३११ जनाले रोजगार पाउने अनुमान गरिएको विभागले जनाएको छ ।
त्यस्तै, सूचना तथा संचारतर्फ ५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । उक्त कम्पनीले सञ्चालन पछि २२ जनालाई रोजगार दिने विभागले जनाएको छ ।
गत वर्ष भदौसम्म पर्यटनमा ५ अर्ब ८५ करोड, सेवामूलक क्षेत्रमा ३ अर्ब ५५ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा १ अर्ब ९५ करोड, ऊर्जा र सूचना तथा संचार क्षेत्रमा १० करोड, कृषिमा ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
चालु आवको दुई महिनामा स्वदेशी र विदेशी गरी कुल ७३ अर्ब ३५ करोड रुपैयाँ बराबरको लगानीका ६६ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमा ऊर्जा क्षेत्रमा ४८ अर्ब ७८ करोड रुपैयाँ लगानीमा १५ उद्योग, पर्यटनतर्फ १० अर्ब ५७ करोड रुपैयाँ लगानीमा १९ उद्योग, सेवामूलक क्षेत्रमा ७ अर्ब ३२ करोड रुपैयाँ लगानीमा १० उद्योग दर्ता भएका छन् ।