दशैंमा खाल्डाखुल्डी सडकमै यात्रा गर्नुपर्ने बाध्यता, विभागले अझै टालटुल गरेन

काठमाडौं । दशैंका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।

वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ ।

असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दशैं परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको  सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।

दशैं अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उनले बताए। विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उनले भने, “पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।”

दशैंका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण भइरहेको छ ।

जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उनले भने, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।”

अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दशैंको समयमा डिभिजन सडक कार्यालयले नियमित  मर्मतको काम गर्ने भएका छन् । एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् ।

सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै १५ हजार किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए। सम्बन्धित विभागले नियमित रुपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।

सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने २ हजार ६०० कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा ३ र तराईमा ५ किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ ।

उनीहरुले ससानो पहिरो टाल्ने, खाल्डो पुर्नेलगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँचपाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम (ओभर ले) गर्नुपर्छ ।

वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

धौलागिरि क्षेत्रकै ठूलो ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा, हरेक कोठाबाट हिमशृङ्खला देखिने Read Previous

धौलागिरि क्षेत्रकै ठूलो ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा, हरेक कोठाबाट हिमशृङ्खला देखिने

खुकुलो नीतिले पनि आकर्षित भएनन् विदेशी लगानीकर्ता, एफडीआइ झन् घट्दो Read Next

खुकुलो नीतिले पनि आकर्षित भएनन् विदेशी लगानीकर्ता, एफडीआइ झन् घट्दो