कोटेश्वर-सूर्यविनायक सडक रातैभर उज्यालो हुने, ४५० स्मार्ट लाइट जडान

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै खर्चमा कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरेको हो ।

आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।

काठमाडौं महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए ।

‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ, यसबाट सहरी सौन्दर्यता पनि बढेको छ,’ घिसिङले भने ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति जडान गरिरहेको छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दै, मर्जरमा जानैपर्ने दबाबमा यी बैंक Read Next

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दै, मर्जरमा जानैपर्ने दबाबमा यी बैंक