काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप थपिन क्रम बढ्दो रहेको छ । पछिल्लो दुई सातामै बैंकिङ प्रणालीमा झन्डै ६७ अर्ब निक्षेप थपिएको छ । जसले तरलता अभाव झेलिरहेका बैंकहरूलाई केही राहत मिलेको छ ।
नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो साता (७ गतेसम्म) २६ अर्ब १४ कराेड निक्षेप संकलन भएको छ । भदौ अन्तिम साता ४० अर्ब ५४ कराेडले बढेको निक्षेप संकलन भएको थियो ।
दशैंका लागि कर्मचारीहरूलाई तलब, बोनस दिँदा सरकारले गर्ने खर्च बढ्दा, विदेशबाट आउने रिमेट्यान्समा सुधार हुँदा निक्षेप बढेको बैंकरहरू बताउँछन् ।
भदौ २४ गतेसम्म बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा असोज ७ गते आइपुग्दा ६७ अर्बले बढेर ४५ खर्ब १२ अर्ब पुगेको संघले जनाएको छ ।

निक्षेपमा सुधार आएसँगै कर्जा विस्तारमा पनि केही सुधार आएको छ । पछिल्लो एकसाताको अवधिमा बैंकहरूले ४ अर्ब कर्जा लगानी गरेका छन् । भदौ ३१ गतेसम्म बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा असोज ७ गतेसम्म बढेर ४१ खर्ब ९४ अर्ब पुगेको छ ।
निक्षेपमा सुधार आएसँगै बैंकहरूको सीडी रेसियो पनि घटेको छ । असोज ७ गतेसम्म बैंकहरूको औसत सीडी रेसियो ८७.२१ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।