हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।

कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दशैंको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए ।

एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।

दैनिक ७५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिए । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ ।

उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको । आव २०७५/७६ मा उधोगले रु एक करोड पाँच लाख नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/७७ मा रु २३ करोड ८२ लाख, २०७७/७८ मा रु १७ करोड चार लाख उद्योगलाई घाटा भएको थियो ।

गत आर्थिक वर्षमा उद्योगले रु एक अर्ब २२ करोड आम्दनी गरेर रु एक अर्ब ३९ करोड खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी रु २३ करोड रु ५५ लाख रहेको छ ।

कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए ।

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह Read Previous

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

शपिङ मलका दशैं अफर : बम्परमा मोटरसाइकलदेखि विदेश भ्रमणसम्म, कुनको के छ ? Read Next

शपिङ मलका दशैं अफर : बम्परमा मोटरसाइकलदेखि विदेश भ्रमणसम्म, कुनको के छ ?