कच्चा तेलको मूल्य ९ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै ९ महिना यताकै सस्तो भएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ डलरसम्म आइपुगेको छ । आइतबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ)क्रुड आयलको भाउ ५.६९ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.७४४ डलरमा आएको छ । जुन ९ महिना अर्थात् सन् २०२२ जनवरी यताकै सस्तो हो ।

त्यस्तै, ग्लोबल ब्रेन्ट बेन्चमार्क ४.३१ प्रतिशतले घटेर ८६.१५ डलरमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने हल्ला र डलरको भाउ आकाशिएसँगै कच्चा तेलको भाउमा उच्च गिरावट आएको हो ।

अन्तर्राष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको विश्लेषकहरु बताउँछन् । बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउने गरेको छ ।

विश्वव्यापी आर्थिक मन्दी आउने हल्लाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा लगातार गिरावट आइरहेको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

पछिल्लो दुई महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

यद्यपि, गत महिना लगातार तीनपटकसम्म इन्धनको भाउ घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

अब नयाँ बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने Read Previous

अब नयाँ बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

बोटलर्स नेपाल तराईको बम्पर लाभांश घोषणा Read Next

बोटलर्स नेपाल तराईको बम्पर लाभांश घोषणा