काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सोमबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ८९ पैसा (विक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
यसअघि ७ असोजमा १ अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ पुगेको थियो । आइतबारको लागि राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा तोकेको छ ।
यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।
विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।
विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केही वृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।
अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।