भारतलाई सवा ७ अर्बको बिजुली विक्री, थप यी ८ आयोजनाको निर्यातको प्रस्ताव

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ ।

जेठ यताको अवधिमा करिब ७ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ २७ गतेदेखि भदौ मसान्तसम्म ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ ।

सो अवधिमा कुल ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा विक्री गरिएको प्राधिकरणले जनाएको छ । भदौमा मात्रै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यसैगरी, जेठमा ८९करोड ५४ लाख, असारमा १ अर्ब ८६ करोड ८० लाख र साउनमा २ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

हाल दैनिक रुपमा नै कुल ६ वटा आयोजनाको ३६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । प्राधिकरणले चालु आवमा मात्रै १६ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ ।

गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात सुुरु भएको छ ।

वर्षात्को मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिकरुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।

थप २१२ मेगावाट निर्यातको प्रस्ताव

हाल ३६४ मेगावाट बिजुली निर्यात गर्दै आएको प्राधिकरणले थप २१२.७ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्जको डे–अहेड बजारमा विक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले विभिन्न ८ आयोजनाबाट उत्पादित बिजुली निर्यातको लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

प्राधिकरणले केही दिनअघि ४ जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

प्राधिकरणका अनुसार निजी क्षेत्रले निर्माण गरेका २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, २९.०४ मेगावाटको लिखूखोला ए, १४.९ मेगावाटको हेवाखोला ए, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ ।

अरुण काबेलीको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

अरुण काबेलीको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

दशैंमा हवाई टिकट पाउनै मुस्किल : ८० प्रतिशत बुकिङ भइसक्यो, कुन एयरलाइन्सको कति ? Read Next

दशैंमा हवाई टिकट पाउनै मुस्किल : ८० प्रतिशत बुकिङ भइसक्यो, कुन एयरलाइन्सको कति ?