दशैंको दक्षिणाले बीमा : व्यक्तिगत वित्तीय व्यवस्थापनको महत्वपूर्ण कडी

पछिल्लो समय बीमाको निकै महत्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा ‘पोलिसी’हरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्याएको समेत देखिन्छ ।

 

तर, आम नेपालीहरु भने अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७१ वर्षको इतिहास बोकेको नेपालको बीमा बजारमा हाल १८ जीवन र २० निर्जीवन गरेर ३८ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । तर, बीमाको पहुँच भने ११ प्रतिशतमा मात्रै सीमित छ ।

 

कम्पनीप्रतिको अविश्वास, बीमा बजारकै विविध कमजोरी, गरीबी र बीमा साक्षरताको अभावलगायतका कारण मानिस यसको दायरामा आउन नसकेको देखिन्छ । इच्छा हुँदा–हुँदै पनि मानिसहरू यी कारणले बीमासँग जोडिन नसकेको देखिन्छ । यद्यपि, पैसाकै कारण बीमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था भने नभएको विज्ञहरू बताउँछन् ।

 

हिन्दू परम्पराबाट अभिप्रेरित नेपाली समाजमा दशैंलाई विशेष पर्वको रूपमा मनाइँदै आएको पाइन्छ । दशैंमा ठूलाबडाको हातबाट टीका लगाएर आशिष लिने प्रचलन पुर्खाैंदेखि चलिआएको छ । साथै, पछिल्लो समय टीका लगाएर दक्षिणा (पैसा) दिने परिपाटीको पनि विकास भएको छ, जसअनुसार सीमित वर्ग र समुदायबाहेकका बालबालिकाले दशैंमा उच्च परिमाणमा दक्षिणा सङ्कलन गर्छन् ।

 

केही विद्यालयमा गरिएको सर्वेक्षणले एक बच्चाले दशैंमा करीब ५ हजार दक्षिणा सङ्कलन गर्ने पाइएको छ । तर, यसरी अतिरिक्त रूपमा आउने पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको देखिन्छ । शिक्षित परिवारका अभिभावक भने दशैंमा आफ्ना बालबालिकाले पाउने रकम बैंक खातामा जम्मा गरिदिन्छन् ।

 

यसरी बैंक खातामा रकम जम्मा गर्दा पछि आवश्यक पर्दा भने प्रयोग गर्न सकिन्छ । यसले खरखाँचो समेत टार्दछ । तर, यो भन्दा पनि अन्य प्रयोगका लागि उक्त पैसा प्रयोग गर्ने बारे सायद निकै कम मानिसले सोच्ने गरेका होलान् ।

 

दशैं र जन्मदिन जस्ता उत्सवमा दक्षिणाबापत जम्मा हुने बालबालिकाको रकमले निजको शैक्षिक बीमा गर्न सकिन्छ । यसरी अतिरिक्त रूपमा आउने पैसाले उनीहरूको बीमा गर्दा अभिभावकलाई पैसा कहाँबाट जुटाउने भनेर सोच्नुपर्दैन ।

बीमाविज्ञ तथा अभिकर्ताले भने दशैंमा दक्षिणामार्फत जम्मा हुने बालबालिकाको रकमले उनीहरूको शैक्षिक बीमा गर्न जोड दिएका छन् । यसरी बीमा गर्दा प्रत्येक दशैंमा दक्षिणामार्फत जम्मा हुने रकमले बीमाशुल्क भुक्तानीमा पनि सहज हुने अभिकर्ताहरूको भनाइ छ । साथै, दक्षिणा वापत् आउने पैसा बैंकमा जम्मा गर्नुभन्दा बीमा गरेर उज्जवल भविष्यको ग्यारेण्टी गर्न विज्ञहरूले सुझाएका छन् ।

 

१५ वर्षे बीमा अवधिमा ६ देखि ७ हजार रुपैयाँसम्म वार्षिक बीमाशुल्क बुझाउँदा १ लाख रुपैयाँ बीमाङ्क बराबरको बीमा गर्न सकिन्छ । उक्त बीमाको समयावधि सकिएपछि बोनससहित करीब २ लाख रुपैयाँ रकम कम्पनीले बीमितलाई प्रदान गर्छ । उक्त रकमले उच्च शिक्षालगायत आधारभूत आवश्यकता परिपूर्तिमा सघाउने शिक्षाविद्हरू बताउँछन् ।

 

दशैं र जन्मदिनमा उठ्ने दक्षिणाले बालबालिकाको बीमा गरौं

 

बीमाविज्ञ भोजराज शर्माका अनुसार, सामान्यतया १५ र १६ वर्षको उमेरपछि उच्च शिक्षा शुरु गर्ने समय आउँछ । त्यो अवस्थामा विविध कारणवश अभिभावकसँग पढाउने खर्च नहुन सक्छ । यसले गर्दा पैसा अभावकै कारण उनीहरु शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था पनि निम्तन सक्छ । यसरी भविष्यमा हुन सक्ने त्यस्ता जोखीम घटाउन अभिभावकले बच्चाको शैक्षिक बीमा गरिदिनु उपयुक्त हुन्छ ।

 

उक्त अवस्थामा बीमाअवधि समाप्त भइसक्ने हुनाले बीमालेख अनुसार आउने रकमले निजलाई कलेज भर्ना, पाठ्यपुस्तक खरीद आदिमा टेवा पुग्छ । यसबाट अभिभावकलाई आर्थिक संकट पनि पर्दैन । त्यसैले, यस्ता विषयलाई दृष्टिगत गरेर अभिभावकले आफ्नो दक्षता अनुसार बालबालिकाको शैक्षिक बीमा गर्नुपर्छ ।

 

दशैं र जन्मदिन जस्ता उत्सवमा दक्षिणाबापत जम्मा हुने बालबालिकाको रकमले निजको शैक्षिक बीमा गर्न सकिन्छ । यसरी अतिरिक्त रूपमा आउने पैसाले उनीहरूको बीमा गर्दा अभिभावकलाई पैसा कहाँबाट जुटाउने भनेर सोच्नुपर्दैन ।

 

बच्चाको उज्जवल भविष्यका लागि शैक्षिक बीमा गरौं

 

ऋषिकेश पोखरेल, बीमा अभिकर्ता (एलआईसी नेपाल) : गाउँमा उच्च शिक्षाको पहुँच नहुँदा शहर बस्नुपर्ने बाध्यता रहेको छ । कुनै पनि विद्यार्थीलाई उच्च शैक्षिक शुल्क जस्ता कारणले उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या हुने सम्भावना छ । उक्त अवस्थामा आर्थिक समस्या हुँदा निजको भविष्य नै जोखीममा पर्न सक्छ ।

 

साथै, त्यो अवस्थामा बैंकबाट कर्जा लिएर अध्ययन गर्दा पनि अस्थिर ब्याजदरका कारण परिवारलाई थप समस्या पनि हुन सक्छ । भविष्यमा हुन सक्ने त्यस्ता समस्याबाट बच्न बच्चाहरूको शैक्षिक बीमा गर्नु अति उत्तम विकल्प हुन सक्छ ।

 

जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूर्ण सवाल हो । अझै यसलाई जुवाको रूपमा बुझ्नेहरू पनि छन् । बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ ।

 

बीमा अवधिको समाप्तिपछि प्राप्त हुने बीमाङ्क र बोनस रकमका कारण निजलाई उच्च शिक्षा हासिल गर्न सघाउ पुग्छ । त्यसैले, चाडपर्वको बेलामा बालबालिकाले पाउने दक्षिणाको रकममा आवश्यक रकम थपेर उनीहरूको शैक्षिक बीमा गरि अनावश्यक खर्च कटौती गरौं ।

 

जीवन बीमा किन गर्ने ?

 

जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूर्ण सवाल हो । अझै यसलाई जुवाको रूपमा बुझ्नेहरू पनि छन् । बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ ।

 

बीमितको हित रक्षा गर्ने समितिको एक प्रमुख कर्तव्य नै हो । त्यस कारण पनि कम्पनी पैसा लिएर भाग्न सक्दैन । यी कम्पनीहरु भरपर्दो र विश्वासिला हुन्छन् । बीमा कम्पनी आफैंले पनि पुःनबीमा गरेको हुन्छ । जसका कारण प्राकृतिक प्राकोप लगायत दुर्घटनामा कम्पनी परे के हुन्छ की भन्ने चिन्ता लिनुपर्दैन ।

 

बीमाका निकै फाइदाहरु रहेका छन् ।

 

१.बचतको बानी बस्छ  : लाखौंको कमाइले जिन्दगीमा त्यति महत्व राख्दैन जति स–सानो बचतले राख्दछ । बीमा गर्दा सर्वप्रथम त बचत हुन्छ । वास्तवमा बचत नै समृद्धिको धुरीखाँबो हो । अन्य बचत योजनामा जुनसुकै बेला पैसा झिक्न मिल्छ र बीमामा पनि यो सुविधा भएता पनि त्यति सजिलै झिकिँदैन । त्यसैले बीमा गर्दा अनिवार्य बचत गर्ने बानी बस्छ ।

२.जोखिम न्यूनीकरण हुन्छ : जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्ति पछिको आर्थिक नोक्सानको भरपाई हुन्छ ।

 

३. भविष्यको आर्थिक सुरक्षा : जीवन बीमा आफैंमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्नुपर्छ र अन्त्यमा बोनससहित भूक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

 

४. बीमितको मृत्युपछि पनि उसको परिवारमा आर्थिक संकट पर्दैन : हाम्रो जस्तो मुलुकमा यसको महत्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ ।

 

तर, उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसका परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।

 

५. आयकरमा छूट : बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ । २० हजार रुपैयाँसम्मको आयमा आयकर छूट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन् ।

 

६. बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी : निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन ।

 

७. सम्पत्ति धितो विना ऋण पाइने : जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको २ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ ।

 

८. स्वास्थ्यको सुरक्षा : हालको परिवेशमा विश्वभर कुनै पनि देशका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको देखिन्न । जिन्दगीभरको कमाइ कुनै एक रोगको कारणले रित्तिएर सडकमा आउनुपर्ने र कतिपयले त उपचार खर्चको अभावमा ज्यानै गुमाउनु परेको छ ।

 

नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा उल्लेख गरिए पनि स्वास्थ्य उपचारको अभावमा वर्षेनि धेरै जनाले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य बीमाले त्यस्ता घटना र रोगको उपचारमा मद्दत गर्छ । यसरी उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पनि बीमाको निकै महत्व छ ।

दशैंको अभिन्न अंग बनेको नयाँ नोट Read Previous

दशैंको अभिन्न अंग बनेको नयाँ नोट

१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था Read Next

१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था