बैंकहरूले ६ महिनापछि बढाए ब्याजदर, प्रभुले १५.१३ प्रतिशतसम्म दिने, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनापछि निक्षेपको ब्याजदर बढाएका छन् ।

बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनदेखिको भद्र सहमति खारेज गरी स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकहरुले निक्षेपको ब्याज बढाएका हुन् ।

बैंकहरुले असोज महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांशले मुद्दती निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत पुर्याएका छन् । फागुनदेखि बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यस्तै, बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर पनि ९.०३ प्रतिशतबाट बढाएर १०.१३ प्रतिशत पुर्याएका छन् । यसैगरी, रेमिट्यान्स निक्षेपको ब्याजदर १२.०३ प्रतिशतबाट बढाएर १३.१३ प्रतिशत पुर्याएका छन् । प्रभु बैंकले भने ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३ प्रतिशतसम्म ब्यादर दिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै नीतिगत बैंकदर बढाउँदै बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको थियो । राष्ट्र बैंकले उक्साए पनि साउन र भदौमा ब्याज नबढाएका बैंकहरुले असोजमा भने निक्षेपको ब्याज बढाएका हुन् ।

निक्षेपको ब्याज बढेसँगै अब बैंकहरुको आधारदर (बेसरेट) महँगिने हुँदा कर्जाको ब्याज समेत बढ्ने छ ।

कुन बैंकले कति दिन्छन् ब्याज ?

एनएमबी बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३ प्रतिशत,  संस्थागत सावधि निक्षेप १०.१३ प्रतिशत, सामान्य बचतमा ९.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।

यसैगरी, सिभिल, प्राइम कमर्शियल बैंक, सिद्धार्थ, सानिमा व्यक्तिगत अवधि निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत,  बचत ९.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।

यस्तै, नबिल बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३ प्रतिशत,  संस्थागत अवधि निक्षेपमा १०.१३ प्रतिशत र बचतमा १०.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।

सेन्चुरी, एनसीसी, नेपाल एसबीआई, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय बानिज्य बैंक, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, हिमालयन, ग्लोबल आईएमई बैंक र नेपाल बैंकले व्यक्तिगत अवधि निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत र बचतमा ७.१३ प्रतिशत (अधिकतम) ब्याजदर दिने भएका छन् ।

यस्तै, प्रभु बैंकले व्यक्तिगत साविक निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत, सामान्य बचत १०.१३  (अधिकतम), प्रभु उन्नति मुद्दती एफडीमा १२.०३ प्रतिशत पुर्याएको छ ।प्रभुले ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३ प्रतिशतसम्म ब्यादर दिने जनाएको छ ।

यस्तै, मेगा बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३  प्रतिशत, संस्थागत अवधि निक्षेपमा १०.१३ प्रतिशत, मेगा मातृभूमि बचत खाता १०.१३ प्रतिशत र  सामान्य बचतमा ७.६३ प्रतिशत ब्याजदर दिने भएको छ  ।

 

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

माथिल्लो अरुणमा जनतादेखि विश्व बैंकले समेत लगानी गर्ने,  ३२ अर्बको आइपीओ आउने Read Next

माथिल्लो अरुणमा जनतादेखि विश्व बैंकले समेत लगानी गर्ने,  ३२ अर्बको आइपीओ आउने