काठमाडौं । अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउनमा) व्यापार घाटा, शोधान्तर घाटा, चालुखाता घाटामा सुधार आएको छ ।
त्यस्तै, गत वर्षको साउनको तुलनामा रेमिट्यान्स आप्रवाहमा पनि सुधार आएको छ । वैदेशिक मुद्रा संचितिमा गिरावट आएको छ भने मुद्रास्फीति दोब्बरले बढेको छ ।
नेपाल राष्ट्र बैंकले चैतदेखि विलासी वस्तु आयातमा कडाइ गरे पनि उल्लेख्य रुपमा सुधार आउन नसकेको देखिएको छ ।
यस्ता छन् मुख्य सूचकहरु
आयात र निर्यात दुवै घट्यो : चालु आवको पहिलो महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । साउनमा वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई रु.१४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस,अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै, साउनमा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई रु.१३१ अर्ब २९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एमएस विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।
चालु खाता एवम् शोधनान्तर स्थितिमा सुधार : समीक्षा अवधिमा चालु खाता रु.१६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।
यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।
विप्रेषण आप्रवाह २० प्रतिशतले वृद्धि : समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको
थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
उपभोक्ता मुद्रास्फीति दोब्बरले वृद्धि : चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको
छ ।
२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४
प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति घट्दो : साउनमा विदेशी विनिमय संचिति घट्दो क्रममा रहेको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१०४९ अर्ब ११ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई रु.१४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।