काठमाडौं । असोज महिनामा निक्षेपको ब्याज बढ्ने देखिएको छ । वाणिज्य बैंकहरु बीच विगत ६ महिनादेखि कायम भद्र सहमति खारेज भएसँगै असोजमा निक्षेपको ब्याज बढ्ने भएको हो ।
नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले फागुनदेखि कायम भद्रसहमति खारेज गर्दै ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो । यससँगै अब असोज महिनाका लागि बैंकहरुले आफूखुसी ब्याजदर तोक्न सक्ने भएका छन् ।
यद्यपि, बैंकहरुले ब्याजदर तोक्दा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि जान पाउने छैनन् । राष्ट्र बैंकले अघिल्लो महिनाकाे औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेको छ । सो अनुसार अब असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गर्न पाउने छन्।
बैंकहरुले गत फागुनदेखि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर, पछिल्लो समय केही बैंकहरुले भद्र सहमति तोड्दै निक्षेप खोस्नका लागि धेरै १२ प्रतिशतभन्दा बढी समेत ब्याज दिन थालेको छन् । यसअघि ब्याज बढाए पनि निक्षेपमा सुधार आउन नसकेको निष्कर्षमा पुगेका बैंकहरु अब भने ब्याजदर बढाउने पक्षमा पुगेका हुन् ।
निक्षेपको ब्याज बढाउँदा बैंकको आधारदर (बेसरेट) पनि बढ्ने हुँदा अब कर्जाको ब्याजदर झनै बढ्ने देखिन्छ ।