काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार घटिरहेको छ । २०७८ भदौमा इतिहासकै सर्वाधिक ३२०० विन्दु छोएको नेप्से त्यसयता लगातार घटिरहेको छ ।
१ वर्षको अवधिमा नेप्से करिब १३०० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै रोकिएको छ । नेप्से लगातार घटेसँगै सूचीकृत कम्पनीहरुको सेयर मूल्य पनि १ वर्ष यताकै सस्तो मूल्यमा आएको छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा विभिन्न १३ समूहको सेयर सूचीकृत छ । सोमध्ये वाणिज्य बैंकहरुको सेयर सबैभन्दा सस्तो छ । तुलनात्मक रुपमा उत्पादनमूलक कम्पनी, माइक्रोफाइनान्स, बीम कम्पनी, फाइनान्स कम्पनीको सेयर मूल्य धेरै रहेको छ ।
नेप्सेमा सूचीकृत २५ वाणिज्य बैंकहरुमध्ये डेढ दर्जन बैंकको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छन् । तीमध्ये पनि आधा दर्जन बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ ।
नेप्सेका अनुसार आज (साढे १२ बजेसम्म) ५ वटा वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा पनि कम छ । कुमारी, लक्ष्मी, सिटिजन्स र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य १९० रुपैयाँदेखि २०० रुपैयाँ भन्दा कम रहेको छ ।
वाणिज्य बैंकहरुको सेयरमध्ये सबैभन्दा महँगो नबिल बैंकको सबैभन्दा धेरै ७९० रुपैयाँ रहेको छ । एनआइसी एशियाको ६०० माथि र एभरेष्टको ५०० रुपैयाँ माथि रहेको छ ।