तारागाउँ होटलको आम्दानी तेब्बरले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको खुद नाफामा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष साढे ३ करोड घाटामा रहेको कम्पनी गत वर्षमा झन्डै १९ करोड नाफा कमाउन सफल भएको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको संचालन आम्दानी र कुल आम्दानी बढेसँगै खुद नाफामा उल्लेख्य बढोत्तरी आएको हो । कोरोना प्रभाव कम भएसँगै पर्यटकीय गतिविधि बढ्दा होटलको नाफामा ठूलो सुधार आएको हो ।

समीक्षा अवधिमा होटलको कुल आम्दानी तेब्बरले बढेर २७ करोड १४ लाख रुपैयाँबाट बढेर ८५ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा होटलको संचालन आम्दानी ५ गुणाले बढेर ७० करोड रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको तारागाउँको रिजर्भ कोषमा ४४ करोड १६ लाख रुपैयाँ संचित छ ।

नाफामा उल्लेख्य सुधार आएसँगै होटलको प्रतिसेयर आम्दानी भने ऋणात्मक नै रहेको छ । अघिल्लो वर्ष ४.१९ रुपैयाँ ऋणात्मक रहेको होटलको प्रतिसेयर आम्दानी असार मसान्तसम्म आइपुग्दा २.४१ रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.६४ रुपैयाँ छ ।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, भाडा बढाउने सहमति Read Previous

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, भाडा बढाउने सहमति

दशैं नजिकिएसँगै हवाई यात्रुको चाप थेग्नै मुस्किल, उडान थप्ने तयारीमा एयरलाइन्स Read Next

दशैं नजिकिएसँगै हवाई यात्रुको चाप थेग्नै मुस्किल, उडान थप्ने तयारीमा एयरलाइन्स