काठमाडौं । हवाइ मार्ग मार्फत आवतजावत गर्ने यात्रुको संख्या बढ्दा एयरलाइन्स कम्पनीको व्यापार बढेको छ । सामान्य अवस्थामा ७०/८० प्रतिशत अकुपेन्सीमा उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुलाई अहिले यात्रुको चाप थेग्नै मुस्किल परेको हो । अब दशैं आउन दुई साता मात्र बाँकी छ । यस अवधिमा मानिसको आवतजावत निकै बढ्ने गरेको छ ।
कतिपय स्थानको टिकट बुकिङ सोल्ड आउट भइसकेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । कम्पनीहरुले हाल दैनिक उडान गरिरहेको संख्याले यात्रुको चाप नधान्ने भएपछि उडान थप्ने तयारी गरिरहेका छन् ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण उडान थप्न नागरिक प्राधिकरणसँग अनुमति माग्ने तयारी भइरहेको बताउँछन् । ‘अहिले हाम्रो क्षमताले भ्याएजति अकुपेन्सी राखेर उडान गरिरहेका छौं । मानिसको चाप बढ्दै गएको छ । कतिपय स्थानको टिकट बुकिङ सकिसकेको छ,’ उनले भने, ‘हामीले नागरिक उड्डयन प्राधिकरणसँग उडान थप गर्न अनुमति माग्ने तयारी गरिरहेका छौं । प्राधिकरणले अनुमति दिएपछि मात्र उडान थप्न मिल्छ ।’
बुद्ध एयरले दैनिक १४० उडान मार्फत साढे सात हजार यात्रुहरू ओसारपसार गरिरहेको कर्णले बताए । अव्यवस्थित र झन्झटिलो सडक पूर्वाधारका कारण मानिसहरुले हवाइ मार्गको प्रयोग उच्च गर्ने गरेका छन् ।
हवाई सेवा प्रदायकहरुका अनुसार हालसम्म ७० प्रतिशत भन्दाबढी टिकट बुकिङ भइसकेको छ । बुद्ध एयरका अनुसार तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फूल भइसकेको छ । विशेषगरी फूलपातिदेखि विजया दशमीकाे दिनसम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् ।
पछिल्लो समय हवाई यात्रुको संख्या वृृद्धिसँगै एयरलाइन्स कम्पनीहरुले पनि आफ्नो सेवा विस्तार गर्नेक्रम बढाएको देखिन्छ । गत साता मात्र एती एयरलाइन्सले एक वटा विमान थपेको थियो ।
कोभिड सुरुभएपछि हवाई मार्ग मार्फत मानिसलाई आवतजावत गर्ने बानिपरेका कारण त्यसयता यात्रुको संख्यामा समस्या नरहेको हवाई कम्पनीका संञ्चालकहरु बताउँछन् ।
अनलाइन मार्फत सहजै टिकट काट्न सकिने भएपछि यात्रुहरुले तत्कालै बुकिङ गर्ने गरेका छन् । यद्यपि, चाडवाडको याममा भने टिकट नपाइने भएका कारण अग्रिम बुकिङ गर्नेको संख्या बढेको देखिन्छ ।
घटस्थापनाको दिनदेखि उपत्यकाबाट बाहिरीने यात्रुहरुको संख्या उच्च हुन्छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक आवजावत गर्ने आन्तरिक यात्रुहरको संख्या १२ हजारसम्म पुग्ने गरेको विमानस्थलका अधिकारीको भनाइ छ । दसैं नजिकिएसंगै यो संख्या अझै वृद्धि हुने अनुमान छ ।
यात्रुको चाप अनुसार विमान कम्पनीहरुले सेवा प्रदान गर्न नसक्ने अवस्था एकातिर छ भने अर्कोतर्फ महंगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यतामा यात्रु छन् । दसैं सहरबाट गाउँ फर्किने विशेष अवसर मात्र नभएर नयाँ गन्तव्यमा घुम्न जाने फर्सदको समय पनि हो ।
जसको कारण मानिसको आवतजावत यो समय निकै बढ्ने गरेको छ । हाल बुद्ध एयरलाइन्स, नेपाल एयरलाइन्स,एती, श्री,हिमालयन,सौर्य,गुण,सीता एयरलाइन्स कम्पनीहरुले दैनिक हवाई सेवा प्रदान गरिरहेका छन् ।