काठमाडौं । टिमुरको अचार नेपालीको जिब्रोमै झुन्डिएको छ । तिख्खर स्वाद हुने भएकाले यो सबैले मन पराउने गरेका छन् । टिमुरमा औषधीण गुण हुने भएकाले यो स्वास्थ्यका लागि समेत फाइदाजनक छ ।
पहिलेपहिले गाउँघरमा जडीबुटीका रुपमा प्रयोग हुने टिमुर अहिले सहरका हरेक भान्छादेखि ठूला होटलमा समेत प्रयोग हुन्छ । पछिल्लो समय अधिकांश होटल, रेष्टुरेन्टले यसको अचार आफ्नो मेनुमा समावेश गर्न थालेका छन् ।
मुख्यगरी टिमुरको अचार बनाइन्छ । जुन मानिसको जिब्रोमै झुन्डिने गरेको छ । टिमुरको अचारलाई नै आफ्नो व्यवसाय बनाएकी छिन् धादिङकी बसुमाया तामाङले ।

काठमाडौंको मनमैजुमा बस्ने तामाङले टिमुरको छोप (धूलो अचार) उद्योग नै खोलेर अचार उत्पादन गर्छिन् । सुरुआती समयमा २ हजार रुपैयाँ लगानीमा सुरु भएको उनको व्यवसाले अहिले वार्षिक २ करोड बढीको आम्दानी गर्न सफल भएको छ ।
उनले टिमुरको अचार उत्पादनका लागि मनमैजुमा ‘नेपाली मन’ नामक उद्योग संचालनमा ल्याएकी छिन् । उनले सो उद्योगमा हाल ९५ दिदीबहिनीलाई रोजगार दिइरहेकी छन् ।
यस उद्योगमा उनले टिमुर, तामा, लौका, तितेकरेला, सिद्रा, डल्ले, आप, मूला, लप्सी मासु लगायतका विभिन्न प्रकारका अचार बनाउने गर्दै आएकी छन् ।
२०४६ सालमा एसएलसी दिएकी उनले २०४८ सालमा आइए (१२) को पढाई पूरा गरिन् । बीए पढ्ने इच्छा भए पनि उनले त्यसको भने मौका पाइनन् ।
पढाइको कुनै कदर नभएपछि उनले आफ्नो गुजारा चलाउन हरेक काम गरिन । ‘पढाईभन्दा पनि काम नै ठूलो भनेर मैले चर्खा काट्ने, बालुवा चाल्ने, पन्जामोजा बुन्ने सबै काम गरे, तामाङले चाणक्य पोष्टसँग भनिन् ‘त्यति गर्दा पनि नभएपछि त्यस बेला स्ट्रिट फूडको चलन आयो, अनि नाङल्लो मै भए पनि आफ्नै केही गर्छु भनेर टिमुरको छोप बनाउन थालेँ ।’
सधै आमाले घरमा ढिडोसँग टिमुरको छोप दिने गरेको सम्झिँदै उनले टिमुरलाई मसला हालेर केही पृथक बनाइन र छरछिमेक हुँदै चाबहिल र चुचेपाटीमा बेच्न थालेकी थिइन् ।
२०५९ सालमा मोजा बुनेर जम्मा गरेको १२ सय रुपैयाँ उनले टिमुर र खुर्सानी किन्नमा खर्चिन । १ किलो कुर्खानी र एक किलो टिमुरलाई पिसेर सिसामा राखि बेच्न थालेकी उनले हाल दैनिक सय किलो अचार उत्पादन गर्छिन् । उनले वार्षिक २ करोड रुपैयाँ बराबरको खचार विक्री गर्दै आएकी छन् ।
छोपलाई विकास गर्दै उनले अहिले हरेक मासुका परिकारको अचार बनाउन थालेकी छन् ।प्रत्येक ६/६ महिनामा ल्याब टेष्ट गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट समेत उनले उत्कृष्ठ अवार्ड पाएकी छन् ।

‘मलाई भगवाने यो नै बनाएर खाउ भन्ने खुबी दिएको छ, मैले कसैसँग ट्रेनिङ लिएर यो गरेको हैन, आमाले गरेको कामलाई अिलि फरक तरिकाले निरन्तर्ता दिएको हुँ,’ तामाङले भनिन् ।
टिमुरको छोप भनेर बोतलमा राखेर बेच्न सुरु गरेको यो अचारले हाल ब्राण्ड नै स्थापना गरेको छ । एनएमई (नेपाली मन उद्योग)को नाममा यो चार बजारमा निकै प्रसिद्ध छ ।
उनले अष्ट्रेलिया, अमेरीका, यूके जस्ता देशमा समेत आफ्नो अचार पठाउने गरेकी छन् । उनले २ करोड बराबरको अचार निर्यात गर्ने गरेकी छन् ।
तामाङले अचारमा आवश्यक पर्ने हरेक वस्तु नेपालकै विभिन्न भूभागबाट किन्ने गरेको बताइन् । उनले अचार बनाउदा टिमुर जिरा, अधुवा, मसला, विशेष प्रयोग गर्ने गरेकी छन् ।
उनले अचार बनाउन प्रयोग हुने खुर्सानी पाल्पा, मकवानपुर, रामेछापबाट वार्षिक ६० लाख रुपैयाँ बराबरको खरिद गरी ल्याउने गरेकी छन् ।
टिमुरका लागि सल्यान निकै प्रसिद्ध र देशमै सबैभन्दा धेरै उत्पादन हुने गरेको छ । सल्यानबाट उनले वार्षिक १ करोड रुपैयाँ बढीको टिमुर ल्याउने गरेकी छन् ।
उनले २ करोड लगानीमा उद्योग स्थापना गरी ९५ महिलाहरुलाई रोजगारी प्रदान गरेकी छन् । यसरी रोजगारी दिदा एकल महिलाहरुलाई विशेष प्राथमिकता दिएको उनले बताइन् ।