नेपालमा ईभीको २४ वर्ष, सरकारी राजश्वले सधैं किचकिच

काठमाडौं । विश्वभर सेप्टेम्बर ९ तारिखलाई ईभी दिवसको रुपमा मनाउने गरिन्छ । पेट्रोलियम पदार्थको धेरै प्रयोगले पृथ्वीको तापक्रम २ डिग्रि सेल्सियस हाराहारी बढेको भन्दै विश्वले नै पृथ्वी बचाउने खोजको रुपमा ईभीको विकास गरेका हुन् । नेपालले पनि विद्युतीय साधनको प्रयोग थालेका २४ वर्ष पुरा भइसकेको छ ।

नेपालले सन् १९९८ मा पहिलो पटक विद्युतीय सफा टेम्पो ल्याएर सडकमा गुडाउन थालेको थियो । जुन अहिलेपनि सार्वजनिक यातायातको रुपमा संचालनमै रहेका छन् । अव भने नेपालमा ईभीको प्रयोग ब्यापक बन्दै गएको छ । ठूला सार्वजकि बस, अटो रिक्सादेखि ठूला र लग्जरी कारसम्म ईभी नेपालमा विक्री हुन थालेको छ ।

नेपालमा सन् २०१० बाट विद्युतीय कारको प्रयोग थालिएको थियो । सन् २०२२ मा आउँदा विश्व प्रसिद्ध टेस्लादेखि दर्जनौ चिनियाँ ब्राण्डले नेपालमा उपस्थिति जनाएका छन् । इन्टरनल कम्वस्चन इन्जिनको तुलनामा कम सरकारी राजस्व तिर्दा हुने भएको कारण महंगो टेक्नोलोजीको बाबजुद नेपालमा ईभी केही सस्तै पाउन सकिन्छ । त्यसैले पनि उपभोक्ताले ईभी किनिरहेका छन् ।

नेपालले ईभीमा विगत ७ वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा केही सहुलियत दिदै आएको छ । तर पनि सरकारै पिच्छे करका दर चलाउँदा विक्रेता र खरिदकर्तालाई सधै अन्योलमा पार्ने काम हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा विद्युतीय कारमा मोटर क्षमता अनुसार कर निर्धारण गरे । उनले गरेको कर वृद्धि व्यापक विरोधपछि नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएर फिर्ता लिएका थिए ।

त्यसपछि पनी ईभीमा लाग्ने कर नेपालमा सधै विवादमा पर्दै गयो । चालु आर्थिक वर्षबाट पुनः ईभीमा कर वृद्धि भएको छ भने गाडीको उपलब्धता पनि अत्यन्त न्यून छ ।

नेपालमा विद्युतीय मोटरसाइकल ब्राण्डको उपस्थिति भने बढेको छ । विभिन्न स्टाटअप कम्पनीहरुले उत्पादन गरेका १ लाख ५० हजार मूल्यदेखि ६ लाखसम्मका मोटरसाइकल तथा स्कुटर नेपालमा उपलब्ध रहेका छन् ।

पहिलो पटक नेपालमा आफ्नै डिजाइन सहितको विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने ब्राण्ड यात्रीको स्थापना भएको छ । यसले भोलिका दिनमा नेपाल विद्युतीय साधन उत्पादन र प्रयोगमा एक कदम अगाडि बढ्ने विश्वास गर्न सकिन्छ ।

विद्युतीय कारको संख्या नेपालमा करिब ३ हजार यूनिट पुगेको छ । विगत ५ वर्षमा जसरी ईभीको प्रयोग विस्तार भएको त्यसैगरी चार्जिङ पूर्वाधार निर्माण पनि सुरु भएको छ । अहिले देशको हरेक कुनामा एसी चार्जर सजिलै पाउन सकिन्छ । साथै, ठूला र सहरी एरियामा निजी क्षेत्रले स्थापना गरेका चार्जिङ नेटवर्क संचालनमा आउन थालेका छन् ।

अहिले नेपालमा टाटा मोटर्स, एमजी मोटर्स, बीवाइडी जस्ता ब्राण्डले चार्जिङ नेटवर्क विस्तारमा ठूलो लागनी गरेका छन् भने नेपाल विद्युत प्राधिकरणले सरकारी तवरबाट चार्जिङ नेटवर्क निर्माणलाई तिब्रता दिएका छन् ।

अब नेपालमा विद्युतीय गाडी निजी मात्रै होइन, कर्मशियल पनि चल्न थालेका छन् । काठमाडौंबाट ओखलढुङ्गा, सिन्धुली, बर्दिवास, चितवन, पोखरासम्मको बाटोमा विद्युतीय माइक्रो बस संचालनमा आउन थालेका छन् । साथै, विक्रेताहरुले पनि चार्जिङ पूर्वाधार सहित कमर्शियल गाडी ल्याउन थालेका छन् ।

ठूला कमर्शियल बसमा भने सरकारी लगानी सहित साझा यातायातले सेवा सुरु गरेको छ । नेपालमा ठूला विद्युतीय बस चलाउने काम भने सुन्दर यातायातले गरेको थियो । त्यसको साथै, भैरहवा–लुम्बिनि क्षेत्रमा पनि विद्युतीय बस र भ्यान संचालनमा आएका छन् ।

आफ्नै देशको विद्युतको प्रयोग बढाउँदै लानु पर्ने अवस्थामा रहेको नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा समेत पर्दै आएको छ । विश्वका दुई उदयीमान अर्थतन्त्रको बीचमा पिल्सिएर रहेको नेपाल आफ्नो कारणभन्दा पनि छिमेकी देशको कारण जलवायु परिवर्तनको चपेटामा पर्दै आएको छ । त्यसैले नेपाल आफ्नो क्षेत्रमा र आफुले गर्ने प्रदुषण कम गर्न चाहन्छ ।

जलवायु परिवर्तनको कारण नेपालका हिमताल उच्च जोखिममा परेका छन् । हाम्रा हिमालमा हिउँ देखिन छाडेका छन् । तराई डुवानमा पर्दै आएको छ भने पहाड पहिरोको उच्च जोखिममा परेको छ । त्यसैले वातावरणिय सन्तुलन कायम गर्न पनि नेपालले ईभीको प्रयोग बढाउन जोड दिनु पर्ने देखिन्छ ।

निजी क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिन अर्थमन्त्रीले गरे अनुरोध Read Previous

निजी क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिन अर्थमन्त्रीले गरे अनुरोध

इलेक्ट्रीक कारमा ह्याट्रीक गर्दै टाटा, बनाउने भयो सबैभन्दा सस्तो मोडल Read Next

इलेक्ट्रीक कारमा ह्याट्रीक गर्दै टाटा, बनाउने भयो सबैभन्दा सस्तो मोडल