सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक: विज्ञ

काठमाडौं । देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले विहिबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सञ्चार मन्त्रालयले शैक्षिक क्षेत्रको माध्यमबाट सूचना प्रविधि क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन गर्न पहल गरिरहेको बताए । आईटी कोर्समा कोटा प्रणालीका कारण धेरे विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै यो विवेद हटाउन सञ्चार मन्त्रालयले पहल गरेको उनले बताए ।

‘प्रविधिसँग सम्बन्धित जनशक्ति हरेक क्षेत्रमा आवश्यक छ । भोलीको दिनमा यसको माग थप बढ्दै जानेछ । यसको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नु पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘यसलाई शिक्षाको क्षेत्रबाट नै सम्बोधन गर्ने हो ।’

त्यसको लागि सञ्चार मन्त्रालयले शिक्षा मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए । साथै नेपालले फिनटेक र डिजिटल अर्थतन्त्रको क्षेत्रमा पनि विस्तारै सुधार गर्दै गइरहेको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको सूचना प्रविधि पूर्वाधारको पहुँच र विकासको विद्यमान अवस्थितिको विषयमा जानकारी दिएका थिए । त्यसैगरी पीडब्लुसी भारतका प्रविधि परामर्शदाता सन्तोष मिस्र र अजरबैजनका राजदुत माननिय अश्रफ शिखालिएभले आ–आफ्नो देशमा भएको प्रविधि पूर्वाधार विकासको विषयमा जानकारी दिएका थिए ।

विश्व बैंकका वरिष्ठ डिजिटल विकास विज्ञ सिद्दार्थ राजाले प्रविधि क्षेत्रमा ठूलो छलांग मार्नको लागि सार्वजनिक र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए । ूयो क्षेत्रमा निजी र सार्वजनिक क्षेत्र मिलेर काम गरेको धेरै कम देखिन्छ । त्यसैले यो अन्तर हटाउनु जरुरी छ’, उनले भने, ‘नेपालले ध्यान दिनुपर्ने विशेष क्षेत्र भनेको ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा इकोनोमी र जनशक्ति उत्पादन हुन् । त्यस्तै उनले नेपालमा डेटा सेन्टरहरू स्थापना गर्नको लागि बातावरण सहज बनाउनुपर्ने पनि बताए ।’

किम्बु टेकका संस्थापक तथा सीईओ कार्विका थापाले आईटीको क्षेत्रमा दक्ष जनशक्ति निकै कम भएको र यसको लागि निजी क्षेत्रहरूले मात्र नभइ सरकारले पनि पहल गर्नुपर्ने बताइन् ।

‘प्रविधिको क्षेत्रमा अहिले विद्यमान सबैभन्दा ठूलो समस्या भनेको नै दक्ष जनशक्तिको आपूर्ति हो । कामको अवसर धेरै छ तर यहाँ काम गर्ने मानिस कम हुँदा समस्या आएको छ’, उनले भनिन् ।

आयात निर्यात सन्तुलन गर्न ‘एक्सपोर्ट फ्रम नेपाल' Read Previous

आयात निर्यात सन्तुलन गर्न ‘एक्सपोर्ट फ्रम नेपाल'

तरलता संकटः ब्याजदर दोब्बरले बढ्दा, मोटरसाइकलदेखि सिमेन्टको ब्यापार चौपट Read Next

तरलता संकटः ब्याजदर दोब्बरले बढ्दा, मोटरसाइकलदेखि सिमेन्टको ब्यापार चौपट