काठमाडौं । कागजी ढड्डाबाट सुरु भएको बैंकिङ कारोबारमा डिजिटल प्रविधि र प्रयोगले क्रान्ति ल्याएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट,क्यूआर लगायत प्रविधिको विकासले मानिसको जीवनशैली सहज र छरितो मात्र होइन, नगद रहित कारोबारमा परिणत गरेको छ ।
जसको कारण नगद चोरी हुने, हराउने, बोक्न झन्जटिलो समस्याबाट मुक्त हुनुका साथै कारोबारका लागि बैंकमा लाइन लाग्नुपर्ने समस्याबाट ग्रहाकले मुक्ति पाएका छन् ।
डिजिटल माध्यम मार्फत कारोबार बढ्दा बजारमा नगद मुद्राको संख्या पनि घट्दै गएको छ । नगद नोटहरु च्यातिने, झुत्रा भएर काम नलाग्ने हुन्छन् । जसलाई राष्ट्र बैंकले जलाएर नष्ट गर्छ ।
राष्ट्र बैंकले हरेक तीन/तीन वर्षमा नयाँ नोट छाप्ने गरेको छ । नयाँ नोट छाप्न अर्बौ रुपैयाँ बाहिरीने गरेको छ । प्रतिनोट छपाइमा १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ६४ पैसासम्म खर्च हुन्छ । जसले नोट छपाइको लागत पनि घटाउने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपाल डिजिटल कारोबारले विस्तारै नगद कारोबारलाई घटाउदै लगेको बताउँछन् । ‘नयाँ नोट छपाइनै घटेको भन्दापनि डिजिटल कारोबारको प्रयोग बढ्दो छ । रिटेलिङ क्षेत्रमा कारोबार बढेको छ । तर, ठूला व्यापारीक हाउसहरुमा पुग्न सकेको छैन,’ उनले भने, ‘अहिले नै त्यस्तो संकेत देखिएको छैन्, दुईचार वर्ष समय लाग्छ । संख्यात्मक रुपमा हेर्दा विस्तारै डिटिल कारोबार बढेको देखिन्छ ।’
राष्ट्र बैंकले हरेक वर्ष बजारको माग अनुसार नयाँ नोट पठाउने गरेको छ । विशेषगरी, दसैंमा नयाँ नोटहरुको माग उच्च हुने भएकाले यही सिजनमा पठाउँदै आएको छ । यस वर्ष बजारमा माग अनुसार १० अर्ब रुपैयाँ जति नयाँ नोट पठाउने तयारी रहेको उनले बताए ।
अहिले बजारमा एक दर्जन बढी डिजिटल वालेटहरुले सेवा दिइरहेका छन् भने त्यत्तिनै कारोबारका लागि अनुमति मागको चरणमा छन् । इन्टरनेटको पहूँच भएको ठाउँका चिया पसलदेखि तरकारी बजारसम्म क्यूआरको प्रयोग गर्न थालिएको छ ।
नयाँ प्रविधिको विकासले नियामक बैंकहरुलाई नै भचूअल मुद्रा कारोबारमा जानुपर्ने बाध्यता बढेको छ । भारत सरकारले चालु वर्षको बजेट मार्फत डिजिटल करेन्सी कारोबारमा ल्याउने घोषणा गरेको छ भने रिजर्भ बैंक त्यसको तयारीमा जुटेको छ ।
नेपाल राष्ट्र बैंकले पनि चालु आवको मौद्रिक नीति मार्फत डिजिटल मुद्रालाई कारोबारमा ल्याउन अध्ययन अघि बढाउने घोषणा गरेको छ । चाहेको बेला निकाल्न मिल्नुका साथै बैंक तथा वित्तीय संस्थाको नियमनमा रहने गरी यस्तो करेन्सी प्रयोगमा आउने इन्टरनेट क्षेत्रका जानकारहरु बताउँछन् ।
‘नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैकिङ प्रवर्धनले रंग ल्याएको देखिन्छ,’ एक बैंकर भन्छन, ‘नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन,सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न मान्दैन । त्यसैले दशै तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैको लागी बन्द गरौं ।’
खुद्रा नोट राष्ट्र बैंकले समेत साट्न नमान्ने भएकाले नगद प्रयोगलाई डिजिटल तर्फ लैजानुपर्ने बैंकिङ क्षेत्रका जानकारहरुको भनाइ छ । डिजिटल वालेट, क्यूआर कोड,फन पे, जस्ता प्रविधिको प्रयोगले बजारमा नगद नोटहरु घट्न थालेका छन् । खुद्रा व्यापार तथा पसलहरुमा यी प्रविधिको प्रयोग बढेसँगै नोटको कारोबारसहित संख्या घट्दै गएको हो ।
अघिल्लो वर्षको तुलनामा बजारमा नोटको संख्या निकै घटेको मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपाल बताउँछन् । अघिल्लो वर्षको तुलनामा बजारमा एक सय अर्ब रुपैयाँ बराबरका नोट घटेको उनले बताए ।
२०७८ असारमा बजारमा चलन चल्तीमा ५ सय ७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चलल्तीका कुल नोटहरू ११.६५ ले घटेर ५ सय ५.९० अर्ब रुपैयाँ बराबरका छन् ।