काठमाडौं । चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कमपनीले साढे अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । वित्तीय प्रणालीमा कायम तरलता अभाव र अर्थतन्त्र सुस्त भएका बेला कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीले १ महिनामा ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
दोस्रोमा शिखर इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ५२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिलो महिनामा ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु इन्स्योरेन्स रहेको छ। यसले १० करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिको तथ्यांक छ । सगरमाथा इन्स्योरेन्सले ३२ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख र नेको इन्स्योरेन्सले २७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स २३ करोड, प्रिमियर २१ करोड २५ लाख, दी ओरियन्टल १९ करोड ५८ लाख र नेशनल इन्स्योरेन्सको १७ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
