काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने भनिएको रिट्ठेपानी डाँडा कटानको काम साढे २ महिनापछि सुरु हुने भएको छ । हाल डाँडा कटानका लागि ठेक्का आह्वान गरिएको छ ।
भदौ १६ गते ठेक्का आह्वान गरिएको थियो । ठेक्का पाउने कम्पनीले उक्त विमानस्थलको पूर्वतर्फ रहेको रिट्ठेपानी डाँडाको ४० मिटर कटान गर्नुपर्ने छ । त्यससँगै रहेको अर्को डाँडाको साढे १२ मिटर कटान गर्ने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनका अनुसार अबको साढे २ महिनापछि डाँडा काट्ने काम सुरु हुनेछ । यस अनुसार कात्तिक अन्तिमसम्ममा डाँडाको कटानको काम सुरु हुने देखिन्छ ।
‘डाँडा काट्नका लागि ठेक्का आह्वानको काम भइरहेको छ, साढे २ महिनामा सबै ठेक्काको काम सकेर कटानको काम सुरु हुनेछ,’ मुनकर्मीले चाणक्य पोष्टसँग भने, ‘३ वर्ष मात्र अनुमती माग्न समय लागेको थियो, अब काम छिट्टै सुरु हुन्छ ।’
रिट्ठेपानी डाँडा विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किमी दूरीमा छ । विमान उडान तथा अवतरणमा अवरोध गर्ने भएकाले उक्त डाँडाको २.१७६ हेक्टर वन क्षेत्र १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्ने आयोजनाले जनाएको छ ।
डाँडा कटानका क्रममा ६०० रूख काट्नु पर्ने आयोजनाले जनाएको छ । डाँडा कटान नगर्दा विमान अवतरण र उडान असहज र असुरक्षित हुने प्राविधिकहरु बताउँछन् । सोही निष्कर्ष अनुसार डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अघि बढाइएको थियो । ईआईए पास हुनलाई ३ वर्ष लागेको थियो । नागरिक उड्डयन प्राधिकरणले वन तथा वातावरण मन्त्रालयमा पेस गरेको विमानस्थलको पूरक ईआईए प्रतिवेदनमा ६०० (८६ वटा ठूला र ५१४ वटा पोल आकारका) रूख कटान हुने उल्लेख छ ।
प्रतिवेदनमा कटान हुने रूखको सट्टामा १० गुणाका दरले ६ हजार वटा बिरुवा आयोजनाकै लागत खर्चमा डिभिजन वन कार्यालयले तोकेको स्थानमा वृक्षरोपण गरी ५ वर्षसम्म स्याहारसम्भार गर्नुपर्ने प्रस्ताव गरिएको थियो । त्यस्तै वन क्षेत्र प्रयोग गरेबापत त्यसको सट्टाभर्नाका लागि डिभिजन वन कार्यालयसँग समन्वय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ईआईए तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले २०७१ फागुन २६ मा स्वीकृत गरेको थियो । प्राधिकरणले ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना’ लाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाएको थियो ।
पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारमा निर्माणको काम सुरु गरेको थियो ।
तोकिएको समयभन्दा ६ महिनाअगाडि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अझै सम्पन्न हुन सकेको छैन ।
हालसम्म विमानस्थलमा धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बनेको । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिदै छ । पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवत जावत गर्न सक्नेछन् ।