टेलिकमको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ?

काठमाडौं । नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । पछिल्लो एक साता यता टेलिकम सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ ।

पछिल्लो ६ कारोबार दिनमा यसको ६ लाख बढी कित्ता सेयर कारोबार भएको छ । करिब ५५ करोडको सेयर किनबेच भएको छ ।

लाभांशको सिजन सुरु हुन लागेसँगै लगानीकर्ता टेलिकमको सेयरप्रति आकर्षित हुन थालेको देखिन्छ । विगतका वर्षहरुमा पनि लगानीकर्तालाई आकर्षक लाभांश दिँदै आएको टेलिकमले यस वर्ष पनि उच्च लाभांश दिने आशामा लगानीकर्ता सेयरमा झुम्मिन थालेका हुन् ।

पछिल्लो १० वर्ष यता टेलिकमले औसतमा ४५ प्रतिशत लाभांश दिँदै आएको छ । यस वर्ष पनि सोही हाराहारीम लाभांश दिने आशामा लगानीकर्ताले टेलिकमको सेयर किन्न थालेको अनुमान गरिएको छ ।

टेलिकमले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणले समेत लगानीकर्तालाई तानेको छ । गत आर्थिक वर्षमा टेलिकमले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै हो ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ। बलियो जगेडा कोष रहेको टेलिकमले यस वर्ष पनि औसत हाराहारीमा लाभांश दिने आँकलन छ ।

यस्तै, पछिल्लो समय टेलिकमको सेयर मूल्य १ वर्ष यताकै सस्तो मूल्यमा आएको छ । गत वर्ष १८०० रुपैयाँसम्म पुगेको टेलिकमको सेयर मूल्य अहिले आधाले घटेर ९०० रुपैयाँ हाराहारीमा आएको छ ।

वित्तीय अवस्था बलियो र उच्च लाभांश क्षमता भएको टेलिकमको सेयर निकै सस्तो मूल्यमा पाएपछि लगानीकर्ता आकर्षित हुन थालेका हुन् ।

बजार पूँजीकरणका आधारमा टेलिकम नेप्सेमा सूचीकृत कम्पनीमध्ये दोस्रो ठूलो कम्पनी समेत हो ।

 

लेदोसहितको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध Read Previous

लेदोसहितको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नबिल बैंकले पायो एकैपटक दुई अवार्ड Read Next

नबिल बैंकले पायो एकैपटक दुई अवार्ड