काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।
हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।
समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेव जीले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।
आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । ‘यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु । साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको बताउँदै श्रदेय आचार्य बालकृष्ण जीले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आउनुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन्,’ उनले भने ।
उनले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पूरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए ।