काठमाडौं । गत महिना ट्रेजरी बिलमा दोहोरो अंकको ब्याजदर दिएको नेपाल राष्ट्र बैंकले पछिल्लो साता भने एकल अंकमा झारेको छ । गत महिना १४ प्रतिशतसम्म ब्याजदर दिएको राष्ट्र बैंकले अहिले ९ प्रतिशत ब्याजदर आफै ट्रेजरी खरिद गर्न थालेको हो ।
राष्ट्र बैंकले ट्रजरीमा १४ प्रतिशतसम्म ब्याज दिएपछि उक्त कदमलाई ब्याजदर वृद्धिको सिन्डिकेटमा बैंकहरुलाई नियामकले साथ दिएको भन्दै वित्तीय क्षेत्रका जानकारहरुले राष्ट्र बैंकको आलोचना गरेका थिए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने विभिन्न नियामकिय सुविधाहरुको ब्याजदर बढाउने घोषणा गरेको थियो । बजारमा पैसाको फ्लो कम गरेर अन्तर्राष्ट्रिय रुपमा सिर्जना भएको मुद्रास्फ्रीती रोक्न ब्याजदर बढाउने नीति अपनाएको छ ।
सोही अनुसार कर्जा विस्तारको लक्ष्य घटाएर साढे १२ प्रतिशत कायम गरेको छ भने अन्तर बैंक भारित औषत ब्याजदर बढाएको छ । राष्ट्र बैंकले ट्रेजरी बिलको ब्याजदर बढाएपछि बैंकहरुले त्यसमा लगानी गरेको रकमको प्रतिफल बढी पाउँछन् । जसको कारण निक्षेपको ब्याजदर वृद्धि गर्न दबाब हुन्छ भने कर्जाको ब्याजदर सोही अनुसार वृद्धि हुन्छ ।
सरकारले बजेट मार्फत घोषणा गरेको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋण पत्र नै ट्रेजरी बिल हो । राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र एक वर्षका लागि ऋण पत्र निष्कास गरेर निश्चित ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोल गरेको रकम खरिद गर्छ ।
‘ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले केही समय ट्रेजरी बिल होल्ड गरेको हो । नेपालमा धेरै ठूलो बिल राष्ट्र बैंकले होल्ड गर्ने परम्परा छैन् । अहिलेको ट्रेजरी बिलमा अरुको भन्दा वाणिज्य बैंकको लगानीको हिस्सा ठूलो छ,’ पूर्व बैंकर अनलराज भट्टराईले भने ।
मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरेको थियो ।
हाल वाणिज्य बैंकहरुको बेस रेट नै दोहो अंकमा पुगेको छ । राष्ट्र बैंकका अनुसार हाल ट्रेजरी बिलको औषत ब्याजदर ९ प्रतिशत पुगेको छ भने अन्तर बैंकदर औषतमा साढे ८ प्रतिशत कायम छ ।
तरलता अभावले ब्याजदर घट्ने संकेत छैन
वाणिज्य बैंकहरुले चैतयता निक्षेपको ब्याजदर बढाएका छैनन् । गत वर्षको पहिलो तीन महिनामा एकल अंकमा रहेको ब्याजदर आक्रामक कर्जा विस्तारसँगै बढाउन थालेका थिए । तर, ब्याजदर उच्च अंकमा पुगेपनि अपेक्षा अनुसार निक्षेप संकलन नहुँदा पछिल्लो समय स्थिर राखेका हुन् ।
गत वर्षदेखि कायम तरलता अभाव र निक्षेप संकलन बढ्न नसक्दा ब्याजदर घटाउने अवस्था नरहेको बैंकरहरु बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभावको संकट कायम रहेकाले तत्काल ब्याजदर घट्ने अवस्था नरहेको बताउँछन् ।
‘तत्कालै ब्याजदर घट्छ भन्न सकिने स्थिति छैन् । बजारमा तरलता संकट कायमै छ, अहिले पनि निक्षेप बढिरहेको छैन,’ उनले भने, ‘निक्षेप एक साता बढ्ने र अर्कोसाता घट्नेक्रम रहेकाले अहिले नै भन्न सकिदैन ।’
हाल बैंकहरुले निक्षेपको ब्याजदर मुद्दतीमा ११.०३ प्रतिशत, बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत दिइरहेका छन् । यसैगरी,संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत कायम गरेका छन् ।
वित्तीय क्षेत्रका जानकार भट्टराई तरलता संकटले ब्याजदर घट्ने अवस्था नभएको बताउँछन् । अर्थतन्त्र मन्दीमा गयो भने ब्याजदर घट्दै जाने र जुन अर्थतन्त्रका लागि नराम्रो अवस्था भएको उनको विश्लेषण छ ।
‘६ महिनामा एक प्रतिशत समेत कर्जा विस्तार नहुनु भनेको अर्थतन्त्र मन्दिमा गएको हो कि भन्ने आशंका हो,’ उनी भन्छन्, ‘मन्दीमा गयो भने ब्याजदर विस्तारै घट्दै जान्छ । ब्याजदर घट्नु र मन्दीमा जानु भनेको नराम्रो अवस्था हो ।’
छोटो अवधिको कर्जाको ब्याजदर समेत दोहोरो अंकमा पुगेका कारण अहिले ब्याजदर घट्ने संकेत नरहेको उनले बताए । ‘अहिलेको अवस्थालाई सामान्य मान्य हो भने तरलता अभावको समस्या तत्काल समाधान हुने देखिदैन् । सहज नहुने भएपछि ब्याजदरलाई केही समय पर्खिनै पर्छ,’ उनले भने ।
बढेन निक्षेप संकलन
ब्याजदर वृद्धिका बाबजुत बैंकहरुको निक्षेप संकलनमा सुधार आएको देखिदैन् । बढ्दो तरलता संकटले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न पाएका छैनन भने उद्योग व्यवसाय गर्न चाहानेहरुले ऋण नपाउने अवस्था आएको छ ।
लामो अवधिदेखिको तरलता संकटले राष्ट्र बैंकको नीति नै पुनरावलोकन गर्नुपर्ने देखिएको जानकारहरु बताउँछन् । ‘६ महिनादेखि एक प्रतिशत पनि निक्षेप नबढ्नुले राष्ट्र बैंकले नीतिगत कदम चाल्नुपर्ने हो कि भन्ने सन्देश दिएको छ,’ भट्टराईले भने ।
चालु वर्षको साउनमा वाणिज्य बैंकहरुबाट १ खर्ब ८ अर्ब रकम बाहिरीएको छ । असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप साउन अन्तिमसम्ममा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ ।
हालसम्म वित्तीय प्रणालीमा ५० खर्ब ३० अर्ब रुपैयाँ डिपोजिट भएको छ भने ४७ खर्ब ४ अर्ब कर्जा लगानी पुगेको छ । राष्ट्र बैंकका अनुसार आइतबारसम्म वाणिज्य बैंकको ४४ खर्ब ३३ अर्ब निक्षेप संकलन र ४१ खर्ब ७२ अर्ब रुपैयाँ निषेप संकलन पुगेको छ ।
पछिल्लो समय बैंकहरको कर्जा लगानी घट्दोक्रममा छ भने निक्षेप संकलन उल्लेख्य रुपमा बढेको छैन् । औषतमा वित्तीय संस्थाहरुको सीडी रेसीयो नै ८८.२५ प्रतिशत पुगेको छ ।