काठमाडौं । दशैंमा धेरै कुराको व्यापार राम्रो चल्छ । माछा–मासु, तरकारी, लुगाफाटो, मदिरा, पर्यटन आदि विभिन्न क्षेत्रमा व्यवसायले गति लिन्छ । मानिसहरु दशैंका लागि भनेर पैसा छुट्याएरै माथि उल्लेखित लगायत विभिन्न क्षेत्रमा खर्च गर्छन् । हुँदा हुँदा नयाँ नोट किनबेचको व्यवसाय पनि राम्रो फस्टाइरहेको छ दशैंमा ।
काठमाडौंका विभिन्न क्षेत्रमा नयाँ नोटको व्यापार गरिरहेका व्यवसायीहरु भेटिन्छन् । जमलस्थित विश्वज्योति हल अगाडि नाङ्लोमा पैसा राखेर बसेकी छन् दिलमाया गुरुङ । आफूले विगत ३ वर्षदेखि दशैंको समयमा नयाँ नोटको कारोबार गरेको उनी बताउँछिन् ।
नोट साट्दाको केही अनुभव सुनाउँदै दिलमाया भन्छिन्, ‘हरेक दिन बिहान ४ बजेदेखि नै राष्ट्र बैंकमा लाइन बस्ने गरेको छु । प्रायः सधैं म आफैं लाइन बस्ने गर्छु तर कहिलेकाँही छोराछोरीलाई पनि राख्छु ।’
राष्ट्र बैंकले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँ दिने गरेको छ । दिलमायाले उक्त नयाँ नोट हरेक दिन सटही गरी बजारमा सर्वसाधरणमाझ ल्याउने गरेकी छन् । उनले एक हजार रुपैयाँ नयाँ नोट साटेबापत एक सय रुपैयाँ रकम बढी लिने गरेको बताइन् । उनकोबाट दैनिक सर्वसाधरणले नयाँ नोट लिने गरेको बताउँछिन् ।
‘गतवर्ष मैले एक हजार रुपैयाँ साटेबापत ९० रुपैयाँ मात्रै बढी लिएँकी थिए, दिलमाया भन्छिन् तर यसवर्षदेखि भने एक हजारको सय रुपैयाँ नै लिएको छु । आफ्नो सबै काम छोडेर लाइन बस्न जानुपर्छ । त्यसबापत केही फाइदा त हुनै पर्यो नि !’ उनी भन्छिन्, ‘उपभोक्ताले पनि त सहज रुपमा केही रकम बढी तिरेर नयाँ नोट लिनु सामान्य नै हो, घण्टौं लाम बस्नुभन्दा । यसलाई महँगो मान्नु गलत हो’ उनले थपिन् ।
नयाँ नोटको चलन व्यापक छ दशैंमा । राष्ट्र बैंकले पनि दशैंकै लागि भनेर नयाँ नोट वितरण गर्दै आएको छ भने सर्वसाधारण पनि नयाँ नोटको लागि राष्ट्र बैंकको दैलोमा घण्टौं लाम लागेका हामीले देखेकै छौं । मान्यजनको हातबाट टिका, जमरा लाउने गर्ने क्रममा दक्षिणाको रुपमा नयाँ नोट दिने चनल संस्कृतिकै अंगजस्तो भएको छ ।
सरकारी स्वामित्वका केही बैंकहरुले पनि दशैंका लागि नयाँ नोट वितरण नगर्ने भने होइन । तर उक्त बैंकहरुमा भने नोट साट्न थालेको ३/४ दिन भित्रै नयाँ नोट सकिने गरेका छन् । तसर्थ आम सर्वसाधरणको अन्तिम उपायका रुपमा भने राष्ट्र बैंक मात्रै रहने गर्दछ । त्यसैले उनीहरु घामपानी–रातदिन नभनी राष्ट्र बैंकमा लाम लाग्ने गरेका छन् ।
यही संस्कृतिलाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले हरेक दशैंमा ठूलो संख्यामा नयाँ नोट बजार पठाउने गर्दछ । दशैंमा प्राय सबैले नयाँ नोट साट्छन् । नयाँ नोट जोहो गर्न निकै पहिलेदेखि नै सर्वसाधरण आतुर हुने गरेका छन् । दशैंको समयमा सबै जना आफ्नो मूल घर जाने हुँदा निकै पहिलेदेखि नै सर्वसाधरणमा नयाँ नोट साट्नेको चिन्ता रहनु स्वभावीक पनि हो ।
यद्यपि नयाँ नोट साट्न त्यति सजिलो भने छैन । राष्ट्र बैंकले दशैं आउनुभन्दा केही समय अघिदेखि मात्रै नयाँ नोट वितरण गर्ने गरेको छ । नयाँ नोट साट्नका लागि सर्वसाधरण विहान ४/५ बजेदेखि राष्ट्र बैंक अगाडि लाईन बस्ने गर्दछन् ।
सरकारी स्वामित्वका केही बैंकहरुले पनि दशैंका लागि नयाँ नोट वितरण नगर्ने भने होइन । तर उक्त बैंकहरुमा भने नोट साट्न थालेको ३/४ दिन भित्रै नयाँ नोट सकिने गरेका छन् । तसर्थ आम सर्वसाधरणको अन्तिम उपायका रुपमा भने राष्ट्र बैंक मात्रै रहने गर्दछ । त्यसैले उनीहरु घामपानी–रातदिन नभनी राष्ट्र बैंकमा लाम लाग्ने गरेका छन् ।
बलराम तिम्सिनाले पनि दशैंको समयमा सर्वसाधरणलाई सहज रुपमा नयाँ नोट उपलब्ध गराउँदै आएका छन् । रत्नपार्कमा नयाँ नोट लिएर बसेका तिम्सिना, गत वर्षदेखि नयाँ नोटको कारोबार गर्न थालेको बताउँछन् ।
तिम्सिना भन्छन्, ‘बिहान ४/५ बजेदेखि राष्ट्र बैंकमा गएर लाइन बस्छु । आफूसँगसँगै छोरा र श्रीमतिलाई पनि लाईनमा राख्छु । बिहान ४ बजेदेखि लाइन बसेपनि १२ बजेसम्ममा बल्ल आफ्नो पालो आउँछ’, आफूले नयाँ नोट सटहिको समयमा पाएको सकस सम्झदै भन्छन्, ‘केही फाइदा हुन्छ की भनेर मात्रै हो दुःख गरेको ।’
तिम्सिनाले पनि एक हजार रुपैयाँ साटेबापत एक सय रुपैयाँ सटही रकम बढी लिने गरेका छन् । ‘गत वर्षपनि हजार रुपैयाँ साट्दा एक सय रुपैयाँ बढी लिएको थिएँ र यो वर्षपनि सोही रकम लिएको छु’ उनी भन्छन् ।
उनले आफूसँग ५, १०, २०, ५०, र १०० का नयाँ नोट उपलब्ध रहेको बताए । सर्वसाधरणले केही रकम तिरेर सहजै नयाँ नोट लिन सक्छन् । यसलाई एक प्रकारको सुविधाको रुपमा नै लिन सकिने तिम्सिना बताउँछन् । आफूबाट धेरै सर्वसाधरणले दैनिक नयाँ नोट लिने गरेको सुनाउँदै उनी भन्छन्, ‘यो सुविधाबाट धेरै सर्वसाधरण निकै खुशी भएका छन्’ ।