बजेट खर्च निराशाजनक: अढाई महिनामा कूल बजेटको ९.८९% मात्र खर्च, असारे विकासमै बजेट सक्ने संकेत

काठमाडौं । विगतका वर्षहरुमा जस्तै यो वर्षमा पनि बजेट खर्चको अवस्था निराशाजनक रहेको छ । सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

 

विनियोजित बजेट अनुसार सरकारले समानुपातिक रुपमा खर्च गर्ने हो भने प्रतिमहिना कूल बजेटको ८.३३ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । सो अनुसार सरकारले अढाई महिनामा कम्तिमा पनि ३ खर्ब १७ अर्ब अर्थात् कूल बजेटको करिब २१ प्रतिशत खर्च गरिसक्नु पर्दथ्यो ।

 

तर, अहिले सम्म कूल बजेटको ९.८९ प्रतिशत मात्र बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज १४ गतेसम्म सरकारले कूल १ खर्ब ५१ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च गरेको छ ।

 

खर्च भएको बजेटको ९१ प्रतिशत चालू खर्चमा

 

सरकारले अढाई महिनामा खर्च गरेको कूल बजेटको ९१.२७ प्रतिशत रकम चालू खर्चमै सकिएको छ । सरकारले असोज १४ गतेसम्म चालू खर्च अन्तर्गत मात्रै १ खर्ब ३८ अर्ब ३३ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । यो सरकारले बजेटमा निर्धारण गरेको लक्ष्यको १४.४५ प्रतिशत हो । सरकारले चालू आवमा ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ चालू खर्चअन्तर्गत खर्च गर्ने लक्ष्य राखेको छ ।

 

त्यस्तै, पूँजीगत खर्चको अवस्था झन नाजुक रहेको छ । आर्थिक वर्षको अढाई महिनाको अवधिमा कूल विनियोजित बजेटको २.४१ प्रतिशत अर्थात ११ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालू आर्थिक आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च अन्तर्गत ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

 

असोज १४ गतेसम्म भएको सरकारी आम्दानी तथा खर्चको विवरण :

 

त्यसैगरी, वित्तीय व्यवस्थापन अन्तर्गत ०.७७ प्रतिशत अर्थात १ अर्ब २९ करोड ५३ लाख रुपैयाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थापनको लागि चालू वर्षमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा बजेट विनियोजन गरिएको छ ।

 

असारे विकासमै बजेट सक्ने संकेत

 

सरकारको अहिलेसम्म गरेको खर्चको स्थिति हेर्दा यो वर्ष पनि विगतका वर्षहरुको जस्तै चालू वर्षमा पनि असारे विकासका नाममा बजेट सकिने संकेत देखिएको छ । आर्थिक वर्षको शुरुका महिनामा चुप लागेर बस्ने अनी असारमा चाँही एकै दिनमा रकमान्तर गरेर दशौं अर्ब खर्च गर्ने परिपाटीले नै निरन्तरता पाउने देखिन्छ ।

 

दुई तिहाईको सरकार भएको अवस्थामा पनि सरकारको बजेट खर्च गर्न शैली भने उही पुरानै रहेको छ । एक त निर्धारित बजेट समयमै खर्च गर्न नसक्ने, भएपनि समयमा भुक्तानी नहुने परम्पराले निरन्तरता पाउने देखिएको छ ।

 

सरकारले गरेको कूल बजेट खर्चमध्येमा पनि चालू खर्चमा मात्रै ९१.२७ प्रतिशत खर्च हुनुले बजेट खर्च गर्ने शैली विकास खर्चमा भन्दा पनि चालू खर्चमा खर्च गर्न केन्द्रित रहेको देखिन्छ । चालू खर्चअन्तर्गत सरकारी कार्यालय सञ्चालनको खर्च, निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको सेवा, सुविधा र तलबभत्ता शीर्षमा खर्च गरिन्छ ।

 

यसले बजेटजति आर्थिक वर्षको अन्त्यमा असारे विकासको नाममा खर्च गर्ने, बजेटको दुरुपयोग हुने, विभिन्न शीर्षकमा रकमान्तर गरी भ्रष्टाचारलाई प्रश्रय दिने संकेत देखिन्छ ।

 

राजश्व संकलन पनि सुस्त गतिमा

 

चालू आर्थिक वर्षमा बजेट खर्चको अवस्था निराशाजनक देखिए जस्तै राजश्व संकलन पनि सुस्त गतिमा भएको छ । सरकारले चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ८२ अर्ब ७० करोड ०२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन निर्धारित लक्ष्यको १६.४३ प्रतिशत हो ।

 

बजेटमा निर्धारित लक्ष्य अनुसार समानुपातिक रुपमा राजश्व संकलन गर्ने हो भने प्रतिमहिना कूल लक्ष्यको ८.३३ प्रतिशत अर्थात ९६ अर्ब ६६ करोड ९४ लाख राजश्व संकलन गर्नुपर्दछ । सो अनुसार सरकारले अढाई महिनामा २ खर्ब ३१ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन गरिसक्नु पर्दथ्यो ।

 

सरकारले चालू वर्षको अढाई महिनामा कर शीर्षक अन्तर्गत १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख र गैरकर शीर्षक अन्तर्गत १० अर्ब ५१करोड १८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य राखेकोमा अढाई महिनामा १ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन हुनुले सरकारले चालू आर्थिक वर्षमा राखेको राजश्वको लक्ष्य भेट्टाउन कठिन पर्ने देखिन्छ ।

सन् २०२१ को लागि डीभी खुल्यो, १७ देशका नागरिकले भर्न नपाउने Read Previous

सन् २०२१ को लागि डीभी खुल्यो, १७ देशका नागरिकले भर्न नपाउने

सेयर बजार सूचकसँगै कारोबार रकममा पनि गिरावट Read Next

सेयर बजार सूचकसँगै कारोबार रकममा पनि गिरावट