सन् २०२१ को लागि डीभी खुल्यो, १७ देशका नागरिकले भर्न नपाउने

काठमाडौं । सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार न्युयोर्कको समय अनुसार बुधबार दिउँसो १२ बजेदेखि ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजेसम्म डीभी भर्न सकिनेछ ।

 

यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।

 

आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा हुन्छ ।

 

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीहरु बताउँछन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न सर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने अधिकारीहरु बताउँछन् ।

 

पासपोर्ट अनिवार्य

 

यस वर्षबाट डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाइएको छ । अब डिभी परेमा मात्र पासपोर्ट बनाउने होइनकी डिभीको फर्म भर्दाखेरिनै पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ । पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

 

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिवार्य बुझाउनुपर्ने जनाइएको छ ।

 

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

 

डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

 

नयाँ नियम अनुशार डिभी लोटरी भर्न चाहनेहरुले कम्तीमा सन् २०२२ को अप्रिलसम्म म्याद रहेको पासपोर्ट प्रयोग गर्न कानुनविदहरुले सुझाव दिएका छन् । सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउन सकिने र भिसा लिने बेलामा पासपोर्टको म्याद कम्तीमा ८ महिना हुनुपर्ने भएकाले डिभी लोटरी भर्दा नै यदि सन् २०२२ को अप्रिलसम्म म्याद भएको पासपोर्ट छैन भने नयाँ पासपोर्ट बनाउन सुझाव दिइएको छ ।

 

डिभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्ने जनाइएको छ ।

 

भारतसहित १७ देशका नागरिकले डीभी भर्न नपाउने

 

अमेरिकी विदेश मन्त्रालयका अनुसार भारतसहित १७ देशका नागरिकले भने डीभीको फारम भर्न पाउने छैनन् ।यी देशहरुका ५० हजार नागरिकलाई यसअघि नै डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् ।

 

डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन, पाकिस्तान, बंगलादेश, ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम रहेका छन् ।चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।

सनराइज बैंकका १४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Previous

सनराइज बैंकका १४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

बजेट खर्च निराशाजनक: अढाई महिनामा कूल बजेटको ९.८९% मात्र खर्च, असारे विकासमै बजेट सक्ने संकेत Read Next

बजेट खर्च निराशाजनक: अढाई महिनामा कूल बजेटको ९.८९% मात्र खर्च, असारे विकासमै बजेट सक्ने संकेत