एउटा घरले ‘रोक्यो’ बलम्बु फ्लाइ ओभर निर्माण

सांकेतिक तस्वीर

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुमा फ्लाइओभर निर्माणको काम भइरहेको छ । जसको निर्माणका लागि आयोजनाले १ अर्ब बढी रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

आयोजना निर्माण स्थलमा करिब ५६ वटा घरटहरा भत्काउनु पर्नेमा ५५ वटा घरटहरा भत्काउने काम सकिसकेको छ । बलम्बुमा रहेको एउटा घरको विवादका कारण घर भत्काउन सकिएको छैन । घरधनीको व्यक्तिगत समस्या भएका कारण घर भत्काउन नसकेको आयोजनाका प्रवक्ता रमेशप्रकाश कोइरालाले बताए ।

बनिसकेको बाटोमा फाउन्डेसन लगाउन बाटो ठूलो बनाउनु पर्ने उनले बताए । उक्त बाटो ठूलो बनाउनका लागि सो घर नभत्काई फाउन्डेसन निर्माणको काम सुरू गर्न नसकिने उनले बताए ।

‘घरजग्गा लिने काम सबै सकिसक्यो, मुआब्जा पनि दिइसक्यो, एउटा घर भत्काउन बाँकी हो त्यो पनि उनीहरूको आन्तरिक समस्याका कारण भत्काउन पाएको छैन, त्यसैले फाउन्डेसनको काम सुरू भएको छैन,’ कोइरालाले चाणक्य पोष्टसँग भने ।

बलम्बुको उक्त फ्लाइओभर निर्माणका लागि ५ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा ३ वटा मात्र फाउन्डेसन निर्माण गर्ने काम भइरहेको उनले बताए ।

उनले पार्ट ‘ए’तर्फ फाउन्डेसन निर्माण सुरू भइसकेको बताए । पार्ट ‘बी’मा फाउन्डेसनको काम सुरू हुन नसकेको हो । उनले नयाँ बाटोतर्फ जाने भागमा फाउन्डेसनको काम भइरहे पनि पुरानै भइरहेको सडकमा उक्त घर भत्काउन नसकेका कारण फाउन्डेसनको काम सुरू हुन नसकेको उनले बताए ।

आयोजनाले फ्लाइओभर निर्माणकै लागि उक्त क्षेत्रमा १४ रोपनी हाराहारीमा जग्गा नयाँ किनेको छ । नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा–आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ ।

८ महिना भित्र फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी काम सुरू गरिसकेको हो । २ लेनको यो फ्लाइओभर १२८ मिटर लामो हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । १२८ मिटर फ्लाइओभरबाट करिब तीन किमी पहुँच (एक्सेस) सडकमार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ ।

सुरुङ खन्ने काम ६२ प्रतिशत सकियो

नागढुंगा नौबिसे सुरुङमार्गमा हालसम्म ६२ प्रतिशत सुरुङ खन्ने का सम्पन्न भएको छ । हालसम्म ३ हजार २७८ मिटर सुरुङ खन्ने काम पूरा भएको हो । आयोजनाको कुल ५ हजार ४९९ मिटर सुरुङ खन्नु पर्नेमा हालसम्म ३ हजार २७८ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो ।

आयोजनका अनुसार मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ४७५ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७७१ मिटर र धादिङतर्फ ७०८ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ६१३ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ९२१ मिटर र धादिङतर्फ ६९२ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ६२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ ३० मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४७ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार २२१ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइँदै छ ।

चालु पूँजी कर्जामा कडाइ, २ करोड माथिको ऋणमा २५ प्रतिशत मात्र पाइने Read Previous

चालु पूँजी कर्जामा कडाइ, २ करोड माथिको ऋणमा २५ प्रतिशत मात्र पाइने

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा