काठमाडौं । पछिल्लो एक साता यता रिडी पावर सर्वाधिक सेयर कारोबार हुने कम्पनी बन्दै आएको छ ।
साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई साउन ३० गतेदेखि नयाँ कम्पनीको नामबाट कारोबारमा आएको थियो ।
त्यसयताका ६ कारोबार दिनमा रिडी ४ दिन सबैभन्दा धेरै सेयर किनबेच हुने कम्पनीबो पहिलो नम्बरमा रहेको थियो भने २ दिन दोस्रो नम्बरमा रहेको छ ।
६ कारोबार दिनमै कम्पनीको १५ लाख बढी कित्ता सेयर किनबेच भएको छ । यद्यपि, यस अवधिमा सेयर मूल्य भने झन्डै १०० रुपैयाँ घटेको छ । साउन ३० मा प्रतिकित्ता ७०८.६० रुपैयाँमा कारोबार खुलेको कम्पनी सेयर मूल्य मंगलबार ६१५ रुपैयाँ छ ।
मर्जरमा गएका कारण लामो समय रोक्का रहेको सेयर कारोबार खुलेसँगै लगानीकर्ताले बेच्न थालेकाले कारोबार धेरै हुन पुगेको हो ।
यस्तै, कम्पनीले सार्वजनिक गरेको आकर्षक वित्तीय विवरणका कारण पनि लगानीकर्ता आकर्षित भएका हुन् । हाइड्रोपावर कम्पनीहरुमध्ये रिडी तुलनात्मक रुपमा बलियो रहेकाले लगानीकर्ताको रोजाइमा परेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ५४ अर्ब ७६ करोड खुद नाफा कमाएको छ । हाल १ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ५८ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४९.२१ रुपैयाँ छ । जुन नेप्सेमा सूचीकृत ५६ वटा हाइड्रोपावरमध्ये सबैभन्दा धेरै हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५३.०५ रुपैयाँ छ ।
कम्पनी नाफामा रहेकाले गत वर्षको नाफाबाट लाभांश बाँड्न पाउँछ । रिजर्भ कोष समेत बलियो रहेकाले कम्पनीले गत वर्षको नाफाबाट आकर्षका लाभांश दिने अनुमान गरिएको छ । जसकारण लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् ।