काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज झन्डै २ अंकले बढेको हो ।
सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार २२२ कम्पनीको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ४३ लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । होटल समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।
आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे ७ करोड र अपी पावर ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
न्यून अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सानिका लार्ज क्पाय फण्ड र हिमालयन बैंकको ३ प्रतिशत, उपकार लघुवित्त, ग्रीन भेन्चर्स, सबैको लघुवित्तको सेयर मूल्य साढे २ प्रतिशत बढेको छ ।