लगातार खस्कँदै यूरो, २० वर्ष यताकै कमजोर

काठमाडौं । अन्तराष्ट्रिय बजारमा यूरोपियन मुद्रा (यूरो)को भाउमा लगातार गिरावट आएको छ । रुस युक्रेन युद्ध र कोभिड पछाडिको आर्थिक मन्दीका कारण यूरो कमजोर हुँदै गएको छ ।

साथै, विश्व बजारमा डलर बलियो हुँदै जाँदा पनि यूरोको मूल्यमा प्रभाव परेको हो । २० वर्षपछि अमेरिकी डलर र यूरोको भाउ झन्डै बराबरी भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको छ ।

युरोपमा मन्दीको प्रचुर मात्रामा डर र उच्च मुद्रास्फीति तथा युक्रेनमा रूसको आक्रमणको कारण ऊर्जा आपूर्ति अनिश्चितताको कारण युरोको भाउ घटेको हो ।

राष्ट्र बैंकले मंगलबार डलरको लागि विक्रीदर १२८ रुपैयाँ १० पैसा छ भने खरिददर १२७ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको विक्रीदर १२८ रुपैयाँ १९ पैसा छ भने खरिददर १२७ रुपैयाँ ५९ पैसा रहेको छ । १ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै यूरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई  वैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यूरो कमजोर हुँदा नेपाली अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पर्नेछ । युरोपेली देशबाट नेपालीले पठाउने रेमिट्यान्समा असर पर्ने देखिन्छ । यद्यपि, युरोपमा कति नेपाली छन् भन्ने तथ्यांक भने छैन् ।

घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा Read Previous

घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

एनएमबी बैंकद्वारा सातै प्रदेशमा महिला मात्र भएको शाखाको घोषणा Read Next

एनएमबी बैंकद्वारा सातै प्रदेशमा महिला मात्र भएको शाखाको घोषणा