सरकारी निकायसँग छैन स्टक चिनी, ६० हजार टन ल्याउन प्रस्ताव

काठमाडौं । चाडपर्वको मुखमै सरकारी निकायसँग चिनीको स्टक सकिएको छ ।सरकारी स्वामित्वको साल्ट ट्रेडिङ करपोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूहरुसँग चिनीको स्टक सकिएको बताएका हुन् ।

अन्य समयमाभन्दा दशैंतिहारमा चिनी धेरै खपत हुने गरेको छ । निजी व्यापारीलेभन्दा केही सस्तो मूल्यमा चिनी बेच्ने सरकारी निकायले चाडवाडको मुखकै चिनीको स्टक सकिएको बताएका हुन् ।

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले चिनी स्टक नरहेको बताए । ‘हामीसँग चिनीको स्टक छैन । यसअघि ल्याएको सबै चिनी सकियो, गोदाम खाली छ,’ उनले भने, ‘सरकारसँग ५० हजार टन चिनी ल्याउन प्रस्ताव गरेका छौं, अझै स्वीकृत भएको छैन ।’

उद्योग मन्त्रालयबाट उक्त पत्र अर्थमन्त्रालयमा पुगेको साल्ट ट्रेडिङका सूचना अधिकारी राजभण्डारीले बताए । उनले हाल साल्ट ट्रेडिङमा कुनै पनि चिनी बाँकी नरहेको बताए । उक्त चिनी ल्याउन वाणिज्य मन्त्रालयमा पहल गरिए पनि अर्थमन्त्रालयमा गएर रोकिएको उनले बताए । अर्थमन्त्रालयबाट बजेट सुनिश्चित भएपछि मात्र चिनी ल्याउन पाइने उनले जानकारी दिए ।

‘चिनी ल्याउन भनेर वाणिज्य मन्त्रालयमा चिठी पठाएका हौँ, अर्थमन्त्रालयमा पुगेर बसेको छ, त्यहाँबाट स्विकृती पायपछि मात्र चिनी ल्याउन पाइन्छ,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ।

स्टक रहेको चिनी सकिएपछि चिनी ल्याउन वाणिज्य मन्त्रालयमा पहल गरिए पनि अर्थमन्त्रालयमा गएर रोकिएको उनले बताए । अर्थमन्त्रालयबाट बजेट सुनिश्चित भएपछि मात्र चिनी ल्याउन पाइने उनले जानकारी दिए ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सुचना अधिकारी शर्मीला सुवेदीले १० हजार टन चिनीका लागि कम्पनीले प्रस्ताव गरे पनि त्यो अझै स्वीकृत नभएको बताइन् । उनले उक्त स्वीकृती प्राप्त गरे लगतै चिनी ल्याउने प्रकृया सुरु गरिने बताइन् ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । हाल बजारमा चिनीको मूल्य प्रतिकेजी ११० रुपैयाँ रहेको छ । हरेक वर्ष चाडपर्वमा खाद्य कम्पनी र साल्ट ट्रेडिङले बजारमा चिनीको मूल्य सन्तुलनमा राख्न भन्सार छुटमा चिनी ल्याएर विक्री गर्ने गरेको थियो ।

सरकारी नियकासँग चाडवाडका लागि पर्याप्त चिनी नभएपछि निजी व्यापारीहरुले कालोबजारी गरी भाउ बढाउन सक्ने देखिन्छ । चैत/वैशाखमा चिनीको होलसेल मूल्य ८५ रूपैयाँ प्रतिकिलो रहेको थियो । हाल यसको मूल्य बढेर १०० रुपैयाँ देखि ११० रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

२५ स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण र प्रहरी बीच सम्झौता Read Previous

२५ स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण र प्रहरी बीच सम्झौता

४ वर्षदेखि खुलेन चिनियाँ नाका, सीमावर्ती क्षेत्रका बासिन्दालाई सास्ती Read Next

४ वर्षदेखि खुलेन चिनियाँ नाका, सीमावर्ती क्षेत्रका बासिन्दालाई सास्ती