काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।