भाडा महँगिए पनि बढ्दै हवाई यात्रु, कुन गन्तव्यको कति छ भाडा ?

काठमाडौं । पछिल्लो समय एयरलाइन्स कम्पनीहरूको व्यापार बढेको छ । हवाईजहाज मार्फत आवतजावत गर्ने यात्रुको सख्या बढ्दा एयरलाइन्सहरूको व्यापार बढेको हो ।

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा महँगिए पनि यात्रु भने घटेका छैनन् । वर्षाका कारण सडकमार्ग हुँदै यात्रा गर्ने पनि हवाई मार्फत यात्रा गर्नु, चाडपर्व तथा पर्यटकीय सिजन सुरु हुनु लगायत कारणले हवाई यात्रु बढेको एयरलाइन्स कम्पनीहरू बताउँछन् ।

नेपालमा कमजोर सडक पूर्वाधार, झन्जटिलो यातायात भएकाले हवाई यात्रालाई भरपर्दो र सहज मानिन्छ । सार्वजनिक सवारीकोभन्दा तेब्बरबढी भाडा तिरेर हवाईजहाज मार्फत नै यात्रा गर्ने गरेका छन् ।

एयरलाइन्स कम्पनीहरूका अनुसार साउनमा घटेको अकूपेन्सी भदौ लागेपछि फेरि बढ्न थालेको छ । अहिले अकुपेन्सी ८० प्रतिशतमाथि पुगेको एयरलाइन्स कम्पनीहरू बताउँछन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण भदौ महिना सुरु भएसँगै यात्रुहरूको आवतजावत बढेको बताउँछन् । ‘गत महिना सुस्त भएको अकुपेन्सी अहिले बढ्दो क्रममा छ । यो हरेक वर्ष हुँदै आएको छ,’ उनले भने, ‘बुद्ध एयरले आवतजावत गरेर दैनिक १४० उडान गरिरहेको छ । यसमार्फत दैनिक ७५०० देखि ८ हजारसम्म यात्रुले आवतजावत गरिरहेका छन् ।’

गत दुईवर्ष कोभिडका कारण मानिसको आवतजावत घट्दा एयरलाइन्स कम्पनीहरूको व्यापार पनि सुस्त भएको थियो ।  यति एयरलाइन्सका सूचना अधिकारी सुर्दशन बर्तोला कोभिड अवधिको तुलनामा अहिले अकुपेन्सी बढेको बताउँछन् ।

‘कोभिडको तुलनामा अहिले एयरलाइन्स मार्फत आवतजावत गर्ने यात्रु बढेसँगै अकुपेन्सी बढेको छ । अप सिजन भएकाले धेरै नभएपनि औषत छ,’ उनले भने, ‘गत साउनकोे तुलनामा यात्रुहरूको आवतजाव बढ्दै गएको छ । अहिले ८० प्रतिशतको हाराहारीमा उडान भइरहेको छ ।’

यति एयरलाइन्सले हाल दैनिक २३ वटासम्म उडान गरिरहेको र सो मार्फत सरदर २ हजार यात्रुहरूले आवतजावत गरिरहेको उनले बताए । कोभिडले मानिसलाई हवाई मार्ग मार्फतबाट यात्रा गर्न बानि पार्नुका साथै गुणस्तरीय सडक पूर्वाधार नहुँदा यात्रुहरूको चाप बढ्नेक्रम रहेको छ ।

हाल दैनिक ९ हजारदेखि १२ हजारको हाराहारीमा दैनिक यात्रुहरू आवतजावत गरिरहेको हवाई सेवा संञ्चालकहरू बताउँछन् ।

कुन गन्तव्यको कति छ भाडा ?

काठमाडौं उपत्यकाबाट सबैभन्दा लामो दुरीको गन्तव्य धनगढीको अधिकतम भाडादर प्रतिव्यक्ति १७ हजार रुपैयाँसम्म पुगेको छ । हाल यस गन्तव्यको न्यूनतम ७ हजार ५ सयदेखि १७ हजारसम्म हवाई सेवा प्रदायकहरूले भाडा तोकेका छन् ।

काठमाडौं–पोखराको भाडादर न्यूनतम ३६ सयदेखि ७ हजार रुपैयाँसम्म पुगेको छ । उपत्यकाबाट भरतपुरसम्मको हवाई भाडा न्यूनतम ४४ सयदेखि ५ हजार रुपैयाँसम्म कम्पनीहरूले तोकेका छन् ।

यसैगरी, काठमाडौं–भैरहवाको हवाई भाडा ४२ सयदेखि ८६०० सम्म पुगेको छ भने काठमाडौं–विराटनगरको भाडा ४५ सयदेखि १० हजारसम्म रहेको एयरलाइन्सहरूले जनाएका छन् ।

काठमाडौं–जनकपुरको भाडा ३१ सयदेखि ५८०० सम्म छ भने काठमाडौंदेखि नेपालगन्जसम्मको ५८०० देखि १४ हजार रुपैयाँसम्म पुगेको छ ।

सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

पैसा मात्र असुल्ने निजी कम्पनीलाई १ हप्ताभित्र फोहर उठाउन महानगरको अल्टिमेटम Read Next

पैसा मात्र असुल्ने निजी कम्पनीलाई १ हप्ताभित्र फोहर उठाउन महानगरको अल्टिमेटम