काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार ७ अंकले घटेको नेप्से आज पनि उत्तिनै अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले घटेर पौने २ अर्बम सीमित भएको छ ।
सोमबार नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २२२ कम्पनीको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । होटल समूह सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे ८ करोड र प्राइम कमर्शियल बैंक ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
आज दोर्दी खोला जलविद्युत्का लगानीकर्ताले सबैभन्दा धेरै ५.२४ प्रतिशतले गुमाएका छन् । त्यसैगरी, श्वेत गंगा ४.१५, तारागाउँ होटल ३.८९, सबैको लघुवित्त, रुरु जलविद्युत्, बोटलर्स नेपाल, राधी जलविद्युत्को सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।
घट्दो बजारमा पनि आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।