दुई लघुवित्तको प्रतिसेयर आम्दानी १०० माथि, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

लघुवित्तहरुको नाफामा गिरावट आएको छ । औसतमा लघुवित्तहरुको नाफा २.२६ प्रतिशतले घटेको छ । सूचीकृत ५६ लघुवित्तमध्ये २६ वटा लघुवित्तको नाफा घटेको छ भने ३० वटाको बढेको छ ।

बैंकको ब्याजदर बढ्दा लागत बढ्न गई लघुवित्तहरुको पनि नाफा प्रभावित भएको छ । नाफा घटेसँगै लघुवित्तहरुको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष औसतमा ४५ रुपैयाँ रहेको लघुवित्तहरुको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ३७ रुपैयाँमा आएको छ ।

केही लघुवित्तहरुले भने आकर्षक प्रगति गरेका छन् । ती लघुवित्तहरुको खुद नाफा, खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी, रिजर्भ कोष, वितरण योग्य नाफा समेत ह्वात्तै बढेको छ ।

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीको तुलनामा लघुवित्तहरूको सेयर मूल्य महँगो रहेको छ । लघुवित्तहरूको कमाइ पनि तुलानात्मक रूपमै बढी हुने गरेको छ । यस्तै, लघुवित्तहरूले सेयरधनीलाई लाभांश पनि उच्च रूपमा दिने गरेका छन् ।

सेयर बजारमा ‘हट केक’मा रूपमा रहेका लघुवित्तहरू लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेका हुन्छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा उच्च नाफा गर्ने र सेयरधनीलाई पनि उच्च प्रतिफल दिने भएर लघुवित्तमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।

लघुवित्तहरूको औसत प्रतिसेयर आम्दानी  ३७ रुपैयाँ हाराहारीमा रहेको छ । तर, दुई लघुवित्तको प्रतिसेयर आम्दानी १०० रुपैयाँभन्दा माथि रहेको छ । महिला लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १०० रुपैयाँ माथि छ । महिला सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त समेत हो ।

महिला लघुवित्त वित्तीय संस्था

नेप्सेमा सूचीकृत लघुवित्तमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने लघुवित्त हो महिला लघुवित्त । अघिल्लो वर्षको तुलनामा ६१.४३ प्रतिशतले खुद नाफा बढाएको लघुवित्तको प्रतिसेयर आम्दानी ८.७८ रुपैयाँले बढेर १०१.७६ रुपैयाँ पुगेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै पौने ६ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ९ करोड २९लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा र खराब कर्जा असुली गर्दा खुद नाफामा वृद्धि भएको हो ।यद्यपि, संचालन मुनाफा भने घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख र संचालन मुनाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३४ करोड करोड निक्षेप संकलन र २ अर्ब ७७ करोड सापटी लिइ कुल ४ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । हाल १४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २९ करोड ८३ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३०२.२६ रुपैयाँ, खराब कर्जा १.९१ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्स

१०० माथि प्रतिसेयर आम्दानी हुने अर्को लघुवित्त हो फरवार्ड माइक्रोफाइनान्स । अघिल्लो वर्षको तुलनामा खुद नाफा ६५.६५ प्रतिशतले बढाएको फरवार्डको प्रतिसेयर आम्दानी १००.११ रुपैयाँ रहेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ८४ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ५१ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड र संचालन मुनाफा ४९.५१ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ७९ करोड करोड निक्षेप संकलन र १० अर्ब ८ करोड सापटी लिइ कुल १९ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३१८.८३ रुपैयाँ, खराब कर्जा १.८३ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.८२ गुणा रहेको छ ।

आइएमई पे र दराजको 'दराज वालेट डे' अफर, १० प्रतिशत छुट पाइने Read Previous

आइएमई पे र दराजको 'दराज वालेट डे' अफर, १० प्रतिशत छुट पाइने

चुनावका लागि १० अर्ब बजेट तर्जुमा, २ लाख जनशक्ति Read Next

चुनावका लागि १० अर्ब बजेट तर्जुमा, २ लाख जनशक्ति