साउनमा झन्डै २ अर्बको बिजुली निर्यात, थप ४ हाइड्रोको बिजुली विक्रीको प्रस्ताव

काठमाडौं । नेपाल विद्युत् पधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै झन्डै २ अर्बको बिजुली निर्यात गरेको छ ।

प्राधिकरणले साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् भारतमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

बिजुली निर्यातबाट साउनमा प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाएको छ । प्रााधिकरणले गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड मार्केटका बिजुली बेच्न सुरु गरेको थियो ।

सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा विक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट नेपाल भारत बिजुली निर्यातका लागि अनुमति पाएका ६ वटै हाइड्रोपावरबाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।

प्राधिकरणले हाल त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिक रूपमा भारतीय बजारमा निर्यात गरिरहेको छ ।

थप १११ मेगावाट निर्यात प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् भारतको डे अहेड मार्केटमा प्रतिस्पर्धामार्फत् विक्रीको प्रस्ताव गरेको छ।

प्राधिकरणले ४ हाइड्रोपावरबाट उत्पादित बिजुली विक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो।

प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला र २२.१ मेगावाटको चिलिमेबाट गरी कुल १११.८ मेगावाट विद्युत् निर्यातको लागि प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरू हुने छ। प्राधिकरणले हाल ६ वटा हाइड्रोपावरबाट उत्पादित बिजुली भारतीय बजारमा बेच्दै आएको छ ।

प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत डे अहेड मार्केटमा विद्युत विक्री गर्दै आएको छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा विक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट विक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।

प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनडीपीसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

साहसिक खेल-पर्यटन ‘हब’ बन्दै फुल्चोकी, माउन्टेन बाइकिङदेखि प्याराग्लाडिङसम्म Read Previous

साहसिक खेल-पर्यटन ‘हब’ बन्दै फुल्चोकी, माउन्टेन बाइकिङदेखि प्याराग्लाडिङसम्म

नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट